नेकपा एमाले बुटवल उपमहानगर कमिटीले ज्योतिनगर क्षेत्रको पहिरो स्थानीय सरकारको नियन्त्रण र व्यवस्थापनभन्दा बाहिर गएको भन्दै संघ र प्रदेश सरकारले चासो दिन माग गरेको छ।
नेकपा एमाले बुटवल उपमहानगर कमिटीले मंगलबार पत्रकार सम्मेलन गरी ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रणका लागि संघ र प्रदेश सरकारले कुनै चासो नदेखाएको आरोप लगाएको हो।
कार्यक्रममा एमाले नगरअध्यक्ष बाबुराम पन्थीले लक्ष्मीनगर र ज्योतिनगरको पहिरो स्थानीय सरकारको नियन्त्रण बाहिर गए पनि संघ र प्रदेश सरकारले कुनै चासो नदिएको बताए।
‘ज्योतिनगर पहिरो प्रभावितहरूको उद्धार, राहत तथा स्थानान्तरणका लागि प्रदेश र संघीय सरकारले चासो दिनुपर्नेमा स्थानीय सरकारलाई दोष दिएर उम्किन खोजिएको छ,’ पन्थीले भने।
पन्थीले एमाले सरकारमा रहे पनि नरहे पनि जनताको पीरमर्कामा सधैंसँगै रहने बताउँदै बुटवलका पहिरो प्रभावितप्रति बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको बताए।
बुटवलमा एमाले नेतृत्वको सरकार रहेकोले समन्वयको काम बुटवलले गर्नुपर्ने भए पनि चुरेको भूक्षय, सुकुम्बासी समस्या समाधान, राष्ट्रिय सडक निर्माण लगायतका योजना निर्माणको मुख्य जिम्मेवारी भने प्रदेश र संघको मातहत हुने भएकोले मुख्य जिम्मेवारी माथिल्ला सरकारकै हुने बताए।
‘एमाले बुटवलको नेतृत्वमा रहेकोले यहाँका विकास निर्माणका समस्या समाधानमा स्थानीय सरकार र पार्टीले सहजीकरण गर्छ, तर स्थानीय तवरबाट यी समस्या समाधान हुन सक्ने अवस्था छैन भन्ने थाहा भए पनि प्रदेश र संघीय सरकार मौन छन्,’ उनले भने।
उनले संघ र प्रदेश सरकारका योजनामा संघ र प्रदेश सरकार जिम्मेवार र जवाफदेही हुनुपर्नेमा सञ्चार माध्यमले समेत बुटवल उपमहानगरको मात्रै आलोचना गरेको गुनासो गरे।
सोमबार ज्योतिनगर पहिरोको क्षति निरीक्षणका लागि गएका बुटवल उपमहानगरका प्रमुखमाथि भएको आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरिसकेको भए पनि नेकपा एमाले कुनै मुद्दा चलाउने पक्षमा नरहेको अध्यक्ष पन्थीले जानकारी गराए।
पन्थीले सोमबारको घटना सुनियोजित हुनसक्ने भन्दै घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्ने बताए।
‘प्रहरी प्रशासनकै उपस्थितिमा नगरप्रमुखमाथि हातपातको प्रयास तथा दुर्व्यवहार भएको छ, यसको सत्यतथ्य छानबिन हुनुपर्छ, तर घटनामा संलग्न भएकै आधारमा पार्टीले मुद्दा चलाउँदैन,’ पन्थीले भने।