एमाले स्थायी कमिटी सदस्य लेखराज भट्टले पार्टीको सुदूरपश्चिम इन्चार्ज आफैं रहेको बताएका छन्।
सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै स्थायी कमिटी सदस्य भट्टले पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघिकै जिम्मेवारीमा काम गर्न भनेको समेत बताए।
पार्टी अध्यक्षले समेत जेठ २ जस्ताको तस्तै कार्यान्वयन नहुने बताइसकेको उनको भनाइ छ।
‘म, उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र सुदूरपश्चिम प्रदेशका पार्टी अध्यक्ष कर्ण थापासहितको भेटमा अध्यक्षले पुरानै जिम्मेवारी कायम रहने भन्नुभएको हो, उहाँले सुदुरपश्चिमको इन्चार्ज म र अध्यक्ष कर्ण थापा रहेको समेत भन्नुभएको हो’ भट्टले भने, ‘पार्टीले अर्को निर्णय नगर्दासम्म सुदुरपश्चिमको इन्चार्ज मै हो।’
उनले रावल र आफू पार्टीमा प्रतिसपर्धी नरहेको बरु व्यक्तिगत सम्बन्ध समेत राम्रो रहेको बताए।
‘रावलजी पार्टीको उपाध्यक्ष हो। म उहाँकोमा जान्छु उहाँ पनि मेरोमा आउनुहुन्छ। हाम्रो व्यक्तिगत सम्बन्ध राम्रो छ’ उनले भने, ‘हाम्रो ठाउँ पनि एउटै हो। तर निर्वाचन क्षेत्र एउटै पर्दैन। त्यसैले पनि हाम्रो सम्बन्ध नराम्रो हुनुपर्ने कुनै कारण छैन।’
रावलले भने २०७५ जेठ २ को संगठन ब्युताउँदा आफू सुदूरपश्चिमको इन्चार्ज हुनुपर्ने दावी गर्दै आएका छन्। उनले १० बुँदे सहमति कार्यान्वयनमा इमान्दारिता नदेखाइको गुनासो आफू निकटहरुसँग गर्दै आएका छन्।