नेकपा एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ। आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ।
एमालेले बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत विधान महाधिवेशनको लोगो सार्वजनिक गरेको हो।
एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिको टुंगो लगाएको छ। स्थायी कमिटीको शनिबार बसेको बैठकले करिब तीन हजार प्रतिनिधिको टुंगो लगाएको हो ।
एमाले विधान महाधिवेशनमा कस-कसले भाग लिन पाउँछन्?
-केन्द्रीय कमिटी र केन्द्रीय कमिटीका पदाधिकारी सदस्य, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, निर्वाचन आयोग, केन्द्रीय सल्लाहकार परिषद, जेष्ठ कम्यनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय विभागबाट सचिवलगायत १५ जना।
-प्रदेश कमिटी र सोसरह मान्यता पाएका पदाधिकारी तथा सदस्यहरू।
-जिल्ला कमिटी तथा जिल्ला कमिटीसरह मान्यता पाएका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू।
-प्रत्येक जिल्लाको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने गरी एक जना सदस्य र एक जना महिला सदस्य। जिल्लाको प्रतिनिधित्व हुने गरी कम्तीका पनि एक जना दलित सदस्य।
-पार्टीका घोषित जनवर्गीय संगठनको केन्द्रीय पदाधिकारीमध्येबाट १० जनाको दरले भाग लिने पाउनेछन्।
-पार्टी सदस्य रहेका प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्य प्रदेश सभाका सदस्य, जिल्ला समन्वयन समितिका प्रमुख र उपप्रमुख महानगरपालिका-उपमहानगरपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलगायत।
यीलगायत ३ हजारले भाग लिने उनले जानकारी दिए।
यस्तै, स्थायी कमिटी बैठक असोज ३ र ४ बस्नेछ भने केन्द्रीय कमिटी बैठक ८ र ९ गते हुने उनले जानकारी दिए।