सुदूरपश्चिम प्रदेश सभाको सबभन्दा ठूलो दल नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको नेतामा सांसद दीर्घ सोडारी चयन भएका छन्।
मंगलबार बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेतामा सर्वसम्मत चुनेको सांसद तारालामा तामाङले बताए।
उनी उक्त पार्टीको तर्फबाट वर्तमान प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री पनि रहेका छन्।
तामाङका अनुसार बैठकमा संसदीय दलको विधान बनाउनका लागि गठित तीन सदस्यीय समितिलाई समेत काम अगाडि बढाउन छलफल भएको छ।
संसदीय दलको विधानलाई पूर्णता दिने, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको सांसद तामाङले बताए।
सोमबार बसेको नेकपा एकीकृत समाजवादीको पहिलो संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको वर्तमान प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको थियो। नेकपा एसबाट प्रदेश सरकारमा ५ जना मन्त्री रहेका छन्।