नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलको बैठकले प्रमुख सचेतक मुनु सिग्देल चयन गरेको छ।
संसदीय दलको कार्यालय हेटौंडामा सोमबार बसेको बैठकले संसदीय दलको उपनेतामा कृष्ण प्रसाद खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मतिले चयन गर्ने निर्णय गरेको हो।
यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा ( माओवादी केन्द्र) र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्नका लागि दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मा दिइएको छ।
दलको सरकार निर्माण भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न माधव प्रसाद पौडेल, बसन्त प्रसाद मानन्धर, मिना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिने निर्णय बैठकले गरेको छ।
नेकपा (एमाले) का ५६ जना प्रदेश सभाका सदस्यहरूमध्ये १३ जना प्रदेशसभा सदस्यहरूले नेकपा (एकीकृत समाजवादी) मा चुनेकाले अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको पार्टीले जनाएको छ।
सरकारलाई वर्तमान अवस्थामा विकास निर्माणका नयाँ कार्यक्रमहरू स्वीकृत गर्न, निश्चित शर्तका आधारमा वितरण गर्ने गरी राखिएको अबण्डाका रकम निकासा नगर्न र आर्थिक अनुशासनलाई कायम गर्न प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको छ।