सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा आन्दोलनरत पक्षले उठाएका माग पुरा गर्ने प्रक्रिया अगाडि बढाइसकेको भन्दै आन्दोलन फिर्ता लिन अनुरोध गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै केही मागहरू पुरा भइसकेको र केही पुरा हुने क्रममा रहेकाले आन्दोलन फिर्ता लिन भनेको हो।
मन्त्रालयले पदाधिकारीको कारबाही प्रक्रिया सिनेटबाटै अघि बढाइने, अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, अख्तियारले छानबिन अगाडि बढाएको लगायतका ८ विषयमा विज्ञप्तिमा जानकारी दिएको छ।
मन्त्रालयले भदौ २० गतेदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा अवरुद्ध रहेको भन्दै तत्कालै अवरुद्ध सेवा चलाउन गर्न आन्दोलनरत पक्षसँग आग्रह गरेको छ।
सरकारले छानबिन लगायतका प्रक्रिया अगाडि बढाएपछि रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले राजीनामा दिएका छन् । उनको राजीनामा स्वीकृत समेत भइसकेको छ ।
प्रतिष्ठान शुद्धीकरणको माग राख्दै तीन महिनादेखि आन्दोलन भइरहेको छ। प्रतिष्ठानमा सुशासन, पारदर्शिता र स्वास्थ्य सेवामा सुधार लगायतका १२ बुँदे माग राख्दै त्यहाँ कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले एक महिनादेखि आन्दोलनरत जारी राखेका छन्।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा ९ सदस्यीय समिति पनि गठन गरेको थियो।