जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल बन्ने भएको छ ।
प्रदेश २ मा दल रोज्ने प्रदेशसभा सदस्यको संख्या १६ पुगेसँगै प्रमुख प्रतिपक्षी दलको मान्यता पाउने भएको छ। प्रदेशसभामा १ सय ७ सदस्य रहेकोमा माओवादी केन्द्रले तीन जना हटाएपछि हाल १ सय ४ जना कायम छन् । त्यसमध्ये सभामुखबाहेक जसपाका ३९ जना सांसाद छन्।
कांग्रेसका १९, लोसपाको १६, नेकपा समाजवादीका १३, माओवादी केन्द्र र एमालेका ८-८ नेपाल संघीय समाजवादीका एक जना प्रदेशसभा सदस्य छन्।
हाल प्रदेशसभामा जसपा पहिलो, काग्रेस दोस्रो, विभाजनपछि गठित लोसपा तेस्रो र नेकपा (समाजवादी) प्रदेशसभामा चौथो ठूलो दल बनेको छ।
यसअघि दोस्रो दलको रूपमा रहेको एमाले र माओवादी केन्द्र पाँचौं र छैठौं तथा नेपाल संघीय समाजवादी पार्टी सातौं दल बनेको छ।
कांग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। माओवादी केन्द्रले एक मन्त्री र एक राज्यमन्त्री पाएको छ। नेकपा समाजवादी समेत सरकारमा सहभागी गराउने तयारी भइरहेको छ।
कांग्रेस सरकारमा सहभागी भएपछि लोसपाले प्रमुख प्रतिपक्षीको रूपमा मान्यता पाउने भएको छ ।
प्रदेश २ का प्रदेशसभा सचिव रञ्जित यादवका अनुसार दल गठनले मात्रै होइन निर्वाचन आयोगले दल गठन भएको औपचारिक जानकारी गराइसकेपछि गठित दलले दल मान्यताको प्रमाणसहित प्रदेशसभामा दावीसहितको माग गरेमा सोही दिनदेखि दलका नेता र प्रमुख सचेतकको सेवासुविधा पाउनेछन्।
दुईवटा संसदीय दल र कर्मचारीसमेत थपिने तयारी गरिएको छ। यता, लोसपाका नेता परमेश्वर साहले आफ्नो पार्टीको चाँडै बैठक बसेर संसदीय दलको विधान निर्माण भएपछि नेता तथा प्रमुख सचेतक, सचेतक चयन गरिने जानकारी दिए।
उनले प्रमुख प्रतिपक्षीको हैसियताले सरकारको गुणदोषको आधारमा विरोध र समर्थन गर्ने बताए।