सर्वोच्च अदालतले कोरोना महामारीका बेला नेपाली कांग्रेसको महाधिवेशन नगर्न माग गर्दै दायर भएको रिट खारेज गरिदिएको छ।
कांग्रेस बागमती प्रदेश सभा सदस्य रहेका नरोत्तम वैद्यले गत हप्ता दायर गरेको रिट न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले खारेज गरेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ।
वैद्यले कोरोना महामारी भएकाले महाधिवेशन केही समय पर सार्न माग गरेका थिए।
‘महाधिवेशन रोक्ने मेरो माग होइन, कोरोना महामारी छ केही समय पर सारौं भन्ने हो,’ वैद्यले भने, ‘कोरोना कम होस्। सबै नेपालीले खोप लगाउने वातावरण मिलेपछि भव्यताका साथ महाधिवेशन गरौं।’
आफूले सर्वोच्चमा रिट दिएर १४ औं महाधिवेशन रोक्न नखोजेको उनले दाबी गरेका छन्।
‘कांग्रेस महाधिवेशनमा भिडभाड हुन्छ, यसले कोरोना नफैलाओस्,’ उनले भने।
कांग्रेसको वडा अधिवेशन शुक्रबारदेखि सुरू भएको थियो। नगर/गाउँ पालिकाको महाधिवेशन २७ गते हुँदै छ भने केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म छ।