प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को नाराबाजीका कारण प्रतिनिधिसभाको नवौँ अधिवेशनको दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएको छ ।
बुधबार दिउँसो बैठक सुरू हुनासाथ एमाले सांसदहरूले आफ्नो पार्टी फुटाउन सभामुख मतियार बनेको भन्दै नाराबाजी गरेका थिए। एमाले सांसदहरूले सर्वोच्च अदालतलमा विचारधीन मुद्दा संसदमा ल्याएको भन्दै सभामुख अग्नि सापकोटाले आक्रोश पोखेका थिए।
सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख प्रतिपक्षी दलको नाराबाजीका बीच सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकका अध्यक्षता गर्नका लागि सांसदहरुको नाम मनोनयन गरेको पढेर सुनाए।
जसमा चन्द्रकान्त चौधरी, मानबहादुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, लालबाबु पण्डित, सत्य पहाडी, सरला कुमारी यादव छन्।
सभामुख सापकोटाले आफू संविधान, नियम, कानून र ऐन अनुसार अगाडि बढ्न प्रतिवद्ध रहेको र आफुले संविधान, नियम, कानूनको बर्खिलाप केही नगरेको भन्दै पटक पटक बैठक सञ्चालन दिन अनुरोध गरे पनि प्रतिपक्षी दलले निरन्तर नाराबाजी गरेर बैठक सञ्चालन गर्न नदिएका हुन्।
त्यसपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो। केही समयपछि फेरि सुरू भएको बैठकमा पनि एमाले सांसदहरूले ‘संसदीय मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।
एमाले सांसदहरूको नाराबाजीपछि सभामुख सापकोटाले फेरि बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।