कुल १६ वटा स्थानीय तह रहेको रुपन्देहीमा ७ जना जनप्रतिनिधि मात्रै नेकपा एमाले छोडेर एकीकृत समाजवादी पार्टीमा गएका छन्।
२०७८ साल भदौ १ गते नेकपा एमाले विभाजन भइ माधव कुमार नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेपछि नयाँ पार्टीमा जान चाहने स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा पुगेर सनाखत गर्न समय दिइएको थियो।
सोही अनुरुप भदौ २२ गते मंगलबारसम्म ७ जना जनप्रतिनिधिले मात्रै एकीकृत समाजवादी पार्टीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याय भण्डारीले सोमबार ५ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेकोमा मंगलबार थप दुई जनाले रोजेको बताए।
उपाध्यायले मंगलबार रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ७ का सदस्यहरु सरस्वती पोखरेल र सितादेवी विकले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिए। पोखरेल वडा नम्बर ७ की महिला सदस्य हुन् भने विक दलित महिला सदस्य हुन्।
यसअघि सोमबार एकजना नगर उपप्रमुखसहित ५ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका थिए।
सोमबार सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहित बुटवलका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षेत्रीले निर्वाचन कार्यालय भैरहवा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गराएका थिए।
रुपन्देहीमा जनप्रतिनिधिमध्ये एकीकृत समाजवादी रोज्ने काफ्ले सबैभन्दा माथिल्लो तहकी हुन्। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा रुपन्देहीका १६ स्थानीय तहमध्ये सात वटामा प्रमुख र आठ वटामा उपप्रमुख पद एमालेले जितेको थियो। १५ जना प्रमुख र उपप्रमुखमध्ये एकजनाले एकीकृत समाजवादी रोज्दा १४ जना भने एमालेमै रहेका छन्।
एमाले विभाजन हुनुपुर्व माधव नेपाल समूहमा रहेका अधिकांश जनप्रतिनिधि पार्टी विभाजनपछि एमालेमै देखिएका छन्। यसअघि माधव नेपाल समूहमा देखिएका सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी र तिलोत्तमाकी उपप्रमुख जगेश्वरिदेवी चौधरी एमालेमै रहेका छन्।
रुपन्देही एमालेका उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसालको जिल्ला हो। पौडेल पहिलेदेखि नै केपी ओली निकट हुन्। माधव नेपाल पक्षधर भनेर चिनिएका घनश्याम भुसाल पनि पार्टी विभाजनपछि एमालेमै रहेपछि रुपन्देहीमा नयाँ पार्टीमा जानेहरुको संख्या कम देखिएको हो।
रुपन्देहीका १६ स्थानीय तहका ८ सय ४५ जना जनप्रतिनिधिमध्ये ३ सय ७० जना जनप्रतिनिधि सूर्य चिन्हबाट निर्वाचित भएका थिए। त्यस्तै रुपन्देहीका १९ जना जनप्रतिनिधिले जनता समाजवादी पार्टी छोडेर लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्याय भण्डारीले सोमबार दिउँसोसम्म मर्चवारी गाउँपालिकाका प्रमुख केशवनन्द बानिया र उपप्रमुख सुनिता कलवार सहित १९ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेको जानकारी दिए। स्थानीय तहको निर्वाचनमा रुपन्देहीका चारवटा स्थानीय तहमा जनता समाजवादी पार्टीले सिट सुनिश्चित गरेको थियो।