अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलन विघटन गर्नुपर्छ भन्नेहरू मण्डले भएको आरोप लगाएका छन्।
अखिल (क्रान्तिकारी) ले आगामी सम्मेलनको शैक्षिक कार्यदिशा तय गर्न सुझाव लिने उद्धेश्यले बिहिबार राजधानीमा गरेको अन्तर्क्रिया कार्यक्रममा उठेका प्रश्नको जवाफ दिँदै तामाङले यस्तो प्रतिकृया दिएका हुन्।
‘आन्दोलन माथि उठइएका सबै प्रश्नको सामना गर्न तयार छौं, कमजोरी सच्याउँदै अघि बढोस् भन्ने जायज सुझावप्रति आभारी पनि छौं’, तामाङले भने, ‘तर पछिल्लो समय जबरजस्ती र नियतबस युवा विद्यार्थी संगठनमाथि प्रहार हुन थालेको छ। गलत राजनीतिक उद्धेश्य र नियत राखेर प्रोपोगाण्डा चलाउनेहरू भने नव मण्डले हुन्।’
इतिहासदेखि पछिल्लो प्रतिगमन विरोधी आन्दोलनसम्म जनताको मुद्दा बोकेको यो विद्यार्थी आन्दोलन अहिले पनि मुलुकको सबैभन्दा लोकप्रिय सचेत युवा शक्ति भएको तामाङले दाबी गरे।
यस्तै महासचिव उत्तम अधिकारीले विद्यार्थी संगठनकै पूर्व नेताहरू यहि आन्दोलनलाई भर्याङ बनाएर आन्दोलनको विपक्षमा बक्तब्य दिँदै हिँडेकोमा आक्रोश पोखे।
उपाध्यक्ष दिपक देवकोटाद्वारा प्रस्तुत ‘नेपाली विद्यार्थी आन्दोलनको समिक्षा’ विषयक अन्तक्रिया कार्यक्रममा विद्यार्थी संगठनका पूर्व अध्यक्ष लीलामणी पोखरेल, देव गुरूङ, प्रकाश पोखरेल, जीवन गौतम र रमेश मल्लसहित पूर्व विद्यार्थी नेता तथा बागमती प्रदेश सदस्य रत्न ढकाल र वर्तमान अध्यक्ष रन्जित तामाङले बिध्यार्थी आन्दोलनको आगामी कार्यदिशाका सन्दर्भमा धारणा राखेका थिए।
अखिल (क्रान्तिकारी) प्रवक्ता जीपी मैनालीका अनुसार अखिल क्रान्तीकारीले असोज ८, ९ र १० गते काठमाडौंमा २२ औं राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिसकेको छ।
अखिल (क्रान्तिकारी)को सम्मेलनमा मुलुकभरबाट ९९९ प्रतिनिधि सहभागी हुने मैनालीले जानकारी दिए।