प्रदेश १ का विपक्षी गठबन्धनमा रहेका दलहरूले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मञ्च सम्मिलित गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति बदर गर्न र अल्पमतमा परेको सरकारले महत्त्वपूर्ण निर्णय नगर्न माग गरेको हो।
एमाले विभाजन भैसकेको अवस्थामा निर्वाचन आयोगले सांसदलाई दल रोज्न समय दिइसकेको बेला बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्ति गरेको भन्दै गठबन्धनले नियुक्ति बदरको माग गरेको हो।
आचार्यले भदौ १० मा मुख्यमन्त्रीको नियुक्ति लिएका थिए।
एमाले विभाजनताका प्रदेशका सांसदहरू समाजवादी दलमा खुलेकै बेला नियुक्ति भएको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीको नियुक्ति अवैधानिक भएको दाबी गर्दै आएको छ।
गठबन्धन दलका नेताहरूका अनुसार समाजवादी दलका सांसदले निर्वाचन आयोगबाट प्रमाणपत्र पाएपछि प्रदेश प्रमुखलाई पनि ज्ञापन पत्र दिने जनाएका छन्। गठबन्धनलाई थप एकताबद्ध बनाउने पनि बैठकले निर्णय गरेको छ।