नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसिएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ।
विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाइसिएल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रीय समितिलाई नै दिएको छ।
केन्द्रीय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समितिका सदस्यहरू भने चयन गरिएको वाइसिएलका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिए।
नयाँ केन्द्रीय समितिमा २३ जना भने पछि मनोनित हुनेछन्।
इन्चार्ज दिपशीखाका अनुसार वाइसिएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनीत गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनीत हुनेछन्।
उनले भने, ‘१० प्रतिशतपछि मनोनीत हुने गरी २३१ सदस्यीय केन्द्रीय समिति निर्माण गरेका छौं। यो केन्द्रीय समिति निर्माण गर्दै हाम्रो संगठनको राष्ट्रिय भेला सम्पन्न भएको छ। राष्ट्रिय भेलाबाट निर्वाचित केन्द्रीय समितिले बैठक बसेर पदाधिकारी चयन गर्नेछ।’
गत शनिबारदेखि सुरू भएको वाइसिएलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दाबी गरेका थिए। तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रीय कार्यसमिति राष्ट्रिय भेलाले चयन गरेको हो।
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा उद्घाटन गरेको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरूलाई परिचालन गर्ने निर्णय पनि गरेको वाइसिएल, नेपालले जनाएको छ।