बालुवाटारमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।
आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ।
प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे केन्द्रित छ। प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।
कांग्रेसबाट एक राज्यमन्त्रीसहित २ मन्त्री, माओवादीबाट २ मन्त्री मात्रै छन्। अध्यक्ष नेपालले नयाँ पार्टी गठन गर्दै दर्ता गरिसकेकोले अब मन्त्रिपरिषद बिस्तार गर्न लागिएको हो।
कसले कति मन्त्रालय पाउने भन्नेबारे सत्तारूढ दलमा छलफल भइसकेको छैन। सत्तारूढ गठबन्धनमा ५ दल रहे पनि राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने बताइसकेको छ।
कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा सरकारमा जाने तयारीमा छन्। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पनि साउन ३ मा प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। उनीहरू पनि सरकारमा जाने वा नजाने भन्ने टुंगोमा पुगिसकेका छैनन्।
अध्यक्ष प्रचण्डले शनिबार पनि प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।