बाढीपहिरो प्रभावितलाई तत्काल उद्धार गरी राहत तथा बसोबासको व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्।
आज मन्त्रालयमा विपद व्यवस्थापन सम्बन्धी बैठकमा गृहमन्त्री खाणले अविरल वर्षापछि बाढी पहिरोबाट पीडित भएकाहरूलाई सहयोग गर्न निर्देशन दिएका हुन्।
बाढीपहिरोले बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था देखिए सोअनुसार काम गर्न पनि सम्बन्धित निकायलाई गृहमन्त्री खाणले निर्देशन दिएका छन्।
बाढीले पुलहरूसमेत क्षति पुर्याएकोले वैकल्पिक व्यवस्था गर्न पनि गृहमन्त्री खाणको निर्देशन छ।
‘अवरूद्ध सडक खुलाउन डाइभर्सन बनाउने, पुल भासिएका छन् भने बेलिबृज निर्माण गर्न जनशक्ति परिचालन गर्नुपर्छ,’ खाणले भने।
गृहसचिव टेकनारायण पाण्डेले ‘विपदमा परेकालाई सुरक्षित स्थानमा ल्याउने, अस्थायी बसोबास निर्माण गर्ने कार्य एकीकृत रूपमा समन्वयात्मक तरिकाले काम गर्न’ निर्देशन दिएका छन्।
बैठकमा राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, नेपाली सेनाका सहायक रथी रामनाथ ढुंगान, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक पुष्पराम केसी, गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल, जलस्रोत तथा सिचाइँ विभाग, खानी तथा भूगर्भ विभाग, सडक विभागबाट आ–आफ्नो कार्यक्षेत्रमा पर्ने स्थानमा वर्षादपछि भएको क्षतिबारे विवरण प्रस्तुत गरेका थिए।
गत जेठ ३१ गतेदेखि अहिलेसम्म बाढी पहिरोबाट ८५ जनाको मृत्यु भएको र ४४ जना बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडकखण्डमा दुई पुल र केही डाइभर्सन भत्किएकाले सडक अवरुद्ध रहेको पनि गृह मन्त्रालयले जनाएको छ।