नव गठित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफू आजीवन राजनीति नगर्ने घोषणा गरेका छन्। बिहिबार पार्टी गठनपछि पहिलो पत्रकार सम्मेलनको आयोजना गर्दै नेता नेपालले आफू आजीवन राजनीति नगर्ने बताएका हुन्।
सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै नेता नेपालले भने, ‘माधव नेपालले आजीवन राजनीति गर्दैन, स्पष्ट भए हुन्छ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीले सधै युवा पुस्तालाई अगाडि बढाउने बताए।
‘मैले त पहिले नै भनेको थिएँ। केपी ओलीलाई विदा गरेर युवा पुस्ताले जिम्मेवारी सम्हालोस् भनेर। सम्हाल्नुहोस् म सहयोगी हुन्छु’, उनले भने, ‘हामी युवा पुस्तालाई सधै अगाडि बढाउँनेछौं। विधानमा पनि युवा पुस्तालाई तलैबाट पार्टीका कमिटीहरूमा राख्ने भनेका छौं।’
उनले आउदो चुनावको पाँच वर्षसम्म पार्टी नेतृत्वमा रहने बताएका छन्।
‘आउँदो चुनापछिको ५ वर्षसम्म मात्र म राजनीतिमा लाग्छु। मेरो सोचाई यो चुनाव पछिको पाँच वर्षसम्म मात्र राजनीति गर्ने हो। जीन्दगीभर बुढो हुँदासम्म पनि लौरो टेकेर पदमा बसिरहने मेरो चाहना छैन।’