जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गर्न १४ जना सांसद र १६ कार्यकारी सदस्यले निर्वाचन आयोगमा सनाखत गरेका छन्।
बुधबार १३ जना प्रतिनिधि सभाका सांसद र १ जना राष्ट्रिय सभाका सांसद र १६ कार्यकारी सदस्यले आयोग पुगेर सनाखत गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन्। कार्यकारी समितिमा ५१ जना सदस्य छन्।
निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएका थिए। चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेका हुन्।
१४ जनाले सनाखत गरेसँगै ठाकुर नेतृत्वको लोसपा दर्ता हुने भएको छ। केही समयअघि जारी भएको अध्यादेशअनुसार कुनै दल विभाजन हुन केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत बहुमत पुग्ने व्यवस्था छ।
सनाखत गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूको पार्टी विधिवत् रुपमा दर्ता भएको बताए। अब पार्टीको मूल्य, मान्यता अनुसार पार्टी आगामी दिनमा संघर्ष गर्दै अगाडि बढ्ने उनले बताए।
‘सांसदको हकमा १४ जना सांसद सनाखत गरे। ८ जना चाहिएको थियो, १४ जना सांसद सनाखत गरे, झण्डै ३७ प्रतिशत भयो। कार्यकारिणी समितिमा पुरानो ५१ जनामा १७ जनाको सनाखत भयो। ३३ प्रतिशत सनाखत भयो। चाहिएको भन्दा बढी उपस्थित भएर सनाखत गरेका हुन्। आज विधिवत् रुपमा हाम्रो पार्टी साइकल चिन्हसहित लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको छ । अब आफ्नो मूल्य मान्यता अनुसार विगतमा बढ्न पाइरहेको थिएन र यो मूल्य, मान्यताको लागि पार्टी आगामी दिनमा संघर्ष गर्छ।’
सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदैँ लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले आफूहरूको माग र मुद्दामा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट प्रतिवद्धता व्यक्त गरेका कारण वर्तमान सरकारलाई समर्थन गरेको भन्दै सो माग र मुद्दाको सम्बोधनका आधारमा सरकारसँग सहकार्यका कुरा अगाडि बढ्ने बताए।
‘शेरबहादुरजीले सहयोगको अपेक्षा गर्नुुभयो। हामीले हाम्रा केही कुराहरु राखेका थियौँ त्यो कुरा उहाँले संसदमा ती कुराहरुको प्रतिवद्धता व्यक्त गरेको आधारमा हामीले यो सरकारलाई विश्वासको मत दिएको हो। यो सरकारप्रति हाम्रो धारणा सकारात्मक रहनेछ र हामी सहयोगी भूमिका रहनेछ। अहिलेसम्म हामीले सरकारको बारेमा सोचेका छैनौँ। माग, मुद्दाको समर्थन र सम्बोधनको आधारमा हाम्रो सरकारसँग सहकार्यका कुराहरु अगाडि बढ्छ।’