प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय जनता पार्टी (भाजपा) का नेता विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।
आइतबार बालुवाटारमा भएकाे भेटमा चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका साथै दुई पार्टीबीचको सम्बन्धका विविध विषयमा कुराकानी भएको थियो।
चौथाइवालेले दुई पार्टी बीचकाे सम्बन्धलाई थप बलियाे बनाउने विषयमा कुराकानी भएको जनाएका छन्।
सो भेटमा सहभागी कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतका अनुसार कांग्रेस र भाजपा बीचको सम्बन्ध थप विस्तारका लागि आपसी भेट तथा पार्टीका क्रियाकलापहरू सक्रिय तुल्याउने विषयमा छलफल भएको हो।
दुई दलबीच हुने सहकार्य र भेटवार्ताहरूले आपसी दृष्टिकोण बुझ्न तथा आपसको सम्बन्ध थप सुदृढ गर्न मद्दत पुग्ने महतले बताए।
भाजपाकाे विदेश विभाग प्रमुखसमेत रहेका उनी कांग्रेसको निमन्त्रणामा चार दिने अनौपचारिक भ्रमणका लागि नेपाल आएका हुन्।
नेपाल रहँदा उनले विभिन्न दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नेछन्।