नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरिको स्वास्थ्यमा समस्या देखिएको छ।
केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी उपचारका लागि भारतको मुम्बई पुगेका थिए।
मुम्बईस्थित हिन्दुजा अस्पतालमा गिरिको उपचार गरिएको छ। उनलाई डाक्टर सुल्तान प्रधान नेतृत्वको चिकित्सक टिमले उपचार गरेको छ।
स्रोतकाअनुसार गिरिको घाँटीमा पहिलेदेखि नै समस्या देखिएको थियो।
यसैबीच मुम्बईमा उपचाररत गिरिलाई भेट्न कांग्रेस उपसभापति विमलेन्द्र निधि आज गएको उनको सचिवालयले बताएको छ।
जटिल समस्या होइन: गिरिको परिवार
गिरि नियमित स्वास्थ्य परीक्षणका लागि भारत गएको उनको परिवारले जनाएको छ।
उनका छोरा सन्तोष सिलवाल गिरिले सेतोपाटीसँग कुराकानी गर्दै नियमित फलोअपका लागि गिरि भारत गएको बताए।
‘एपोलो अस्पतालमा उहाँले परीक्षण गराउनुभयो, मुम्बईमा पनि परीक्षण गरिएको थियो,’ उनले भने, ‘कोरोनाले दुई वर्षदेखि उहाँ नियमित रूपमा स्वास्थ्य परीक्षणमा जान पाउनु भएको थिएन। वार्षीक रूपमा स्वास्थ्य परीक्षणका लागि उहाँ गइरहनु हुन्थ्यो, त्यहीअन्तर्गत अहिले पनि जानु भएको हो।’
बाहिर आएजस्तो उहाँको स्वास्थ्यमा जटिल समस्या नरहेको उनले जानकारी दिए। उनले आफूहरूकै व्यक्तिगत खर्चमा उहाँको स्वास्थ्य परीक्षण गर्दै आएको बताए।
उपसभापति निधि भेट्न जानेबारे आफूहरूलाई जानकारी नभएको पनि उनको भनाइ छ।