मानव अधिकार आयोगले अफगानिस्तानमा रहेका नेपालीहरूको तत्काल उद्धार गर्न माग गरेको छ।
मंगलबार अफगानिस्तानमा त्यहाँ रहेका नेपालीहरूको तथ्यांक यकिन गरी तत्काल उद्धार गर्न भनेको आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलले बताए।
नेपालीहरूको उद्धार गर्न सरकारले गरेको प्रयासबारे आयोगले परराष्ट्र सचिव भरतराज पौडेल र वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीसँग छलफल गरेको थियो।
छलफलका क्रममा सरकारले उद्धारका लागि कूटनीतिक पहल जारी राखेको, कूटनीतिक नियोगहरूमा कार्यरत नेपालीहरूको उद्धार भएको र बाँकीलाई पनि सुरक्षित रूपमा ल्याउने प्रयास भइरहेको उनीहरू जानकारी गराएका थिए।
समाचारमा आएजस्तो अफगानिस्तानमा ठूलो जोखिमको स्थिति नरहेको पौडेल र दवाडीले जानकारी गराएका थिए।
नेपालीहरू अन्य मुलुक हुँदै अफगानिस्तान प्रवेश गर्ने हुँदा तथ्यांक नभएको सरकारले बताएको छ। छलफलका क्रममा आयोगका अध्यक्ष तपबहादुर मगरले जुनसुकै हैसियतमा अफगानिस्तान पुगेका भए पनि जोखिममा रहेका सबै नेपाली नागरिकहरूको उद्धार गर्न सरकारलाई निर्देशन दिएका थिए।
'अनिश्चित राजनीतिक घटनाक्रम र द्वन्द्वग्रस्त अवस्थाका कारण श्रम स्वीकृति लिएर गएका नेपाली नागरिकहरु समेत जोखिममा रहेको देखिएको छ,'आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,' अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको संख्याका बारेमा समाचार माध्यममा फरक-फरक तथ्यांक प्रकाशित भए पनि नेपाल सरकारसँग यकिन तथ्यांक नरहेको पाइएको छ।'