नेपाली कांग्रेसले क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान गर्न तीन जना केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखकले अब क्रियाशील विवाद हल गर्नुपर्नेछ।
शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता विवाद छिटो हल गर्ने निर्णयसमेत गरेको छ।
सिटौला, रिजाल र लेखकलाई चार दिनको समय दिइएको छ।
भदौ ३ गतेभित्र क्रियाशील विवाद समाधान गरी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन दिइसक्नुपर्नेछ।
यसअघि कांग्रेसले केन्द्रीय सदस्य लेखकको नेतृत्वमा केन्द्रीय क्रियाशील छानबिन समिति गठन गरेर करिब पाँच हजार उजुरी हेरेको थियो।
उक्त समितिले अधिकांश विवाद हल गरी साउन १२ मा सभापति देउवालाई प्रतिवेदन बुझाएको थियो। समितिले टुंग्याउन नसकेका बारा, सप्तरीलगायत ६ जिल्लाका एक सय वडाका क्रियाशील विवाद अब सिटौला, रिजाल र लेखकले हेर्नेछन्।
कांग्रेसले ८ लाख ५२ हजार क्रियाशील बनाइसकेको छ। विभिन्न जिल्लका विवाद हल गरेपछि र विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील विवरण आएपछि क्रियाशील सदस्य करिब ९ लाख पुग्नेछ।
केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक लेखकले बुझाएको प्रतिवेदनलाई शनिबारको केन्द्रीय समिति बैठकले पारितसमेत गरेको छ।
‘केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले प्रस्तुत गर्नु भएको प्रतिवेदन बैठकले पारित गरेको छ। उक्त प्रतिवेदनमा उल्लेख गर्न बाँकी रहेका कार्य पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्यद्वय रिजाल र लेखकले भदौ २ गतेभित्र सहमतिमा टुंगो लगाई भदौ ३ केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने।
साथै बैठकले सबै तहको अधिवेशन र प्रतिनिधित्वको अनुसूची सम्बन्धी व्यवस्थासमेत गरिएको निर्वाचन निर्देशिका केन्द्रीय समितिबाट पारित गरेको छ।
निर्देशिका सहमहामन्त्री प्रकाशशरण महत र केन्द्रीय सदस्य मिनेन्द्र रिजालले निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवको परामर्शमा भदौ १ गते सहमतिमा टुंगो लगाएर भदौ २ भित्र सभापति देउवालाई बुझाइसक्नुपर्ने सयम पनि केन्द्रीय समितिले दिएको छ।
यस्तै कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गर्ने भएको छ। केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय भएको छ। यसअघि भदौ १६ देखि १९ गतेसम्म केन्द्रीइ महाधिवेशन गर्ने निर्णय भएकोमा तीन महिना महाधिवेशन सारिएको छ।