नेपाली कांग्रेसको महाधिवेशन फेरि सरेको छ।
भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको महाधिवेशन तीन महिना पर धकेलिएको छ।
शनिबार बसेको केन्द्रीय समिति बैठकले १४ औं महाधिवेशन मंसिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको छ। महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव गरेको महाधिवेशनलगायतका प्रस्तावहरू केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो।
मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले सेतोपाटीलाई बताए। महाधिवेशन काठमाडौंमा हुनेछ।
उनकाअनुसार वडा अधिवेशन भने भदौ १८ मा हुनेछ। गत साउन १२ मा हुनुपर्ने वडा अधिवेशन भदौ १८ का लागि सारिएको हो।
कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ। तर कांग्रेसले भदौ १८ मा वडा अधिवेशन गरेपछि पार्टीमा वैधानिकताको प्रश्न नउठ्ने भन्दै केन्द्रीय महाधिवेशन भने मंसिरका लागि सारेको छ।
कांग्रेस विधानअनुसार चार वर्षको अन्तरालमा महाधिवेशन गर्नुपर्छ। कांग्रेसले १३ औं महाधिवेशन २०७२ सालमा गरेको थियो। देउवाले चार वर्ष नियमित, विधानअनुसार थप एक वर्ष र संविधानअनुसार थपेको छ महिना समय पनि भदौ २३ मा सकिँदैछ।
कांग्रेसमा ८ लाख ५२ हजार क्रियाशील सदस्य बनेका छन्।
बारा, सप्तरीलगायत ६ जिल्लाका करिब एक सय वडामा क्रियाशीलको विवाद छ। क्रियाशील विवाद सकेर अन्तिम नामावली भदौ २ गतेसम्म बुझाइसक्नुपर्ने समय दिइएको छ।
यस्तै शनिबारको केन्द्रीय समिति बैठकले उपसभापति तथा अरू राजनीतिक दल समायोजन समितिका संयोजक रहेका विमलेन्द्र निधिले प्रस्तुत गरेको प्रतिवेदन पनि अनुमोदन गरेको छ।
यस्तो छ महाधिवेशनको कार्यतालिका:
१. क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने: २०७८/५/२
२. निर्वाचन निर्देशिका बुझाउने: २०७८/५/२
३. वडा अधिवेशन : २०७८/५ / १८
४. गाउँ/नगर पालिका: २०७८/५/ २७
५. प्रदेश क्षेत्र क/ख: २०७८/ ६/१
६. संघीय निर्वाचन क्षेत्र : २०७८/६/ ५
७. जिल्ला : २०७८/६/१०
८. प्रदेश: २०७८/७/१०-१२
९. केन्द्रीय : २०७८/८/ ९-१३