नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले 'शेरबहादुर देउवा किन मलाई मन पर्छ' भन्ने भिडिओबारे पार्टीको आन्तरिक बैठकमा बोल्दै नबोलेको कुरा बाहिर आएको बताएका छन्।
प्रधानमन्त्री देउवाको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताहरूका बीचमा राखेका कुरालाई जोडेर भिडिओबारे नभनेका कुरा सञ्चार माध्यमहरूमा सुनियोजित रूपमा आएको महतको भनाइ छ।
प्रधानमन्त्री देउवा जीवनका विभिन्न कालखण्डमा सत्तामा हुँदा वा नहुँदा गरेका राम्रा कामहरूलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने आफूलाई पनि लागेको महतले आज निकालेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘प्रधानमन्त्री वा उनका सहयोगीले गरेका कुनै कार्यले प्रधानमन्त्रीको छबिलाई हानी गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीसँग निरन्तर पहुँचमा रहेका नेता तथा निकटस्थहरूले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हुँ,’ महतले भनेका छन्।
छलफलमा नभनेका कुरा तोडमोड गरी सञ्चार माध्यममा त्यहीभित्रबाट सम्प्रेषण हुनु दुर्भाग्यपूरुण रहेको पनि महतले विज्ञप्तिमा उल्लेख गरेका छन्।
यो पनि: देउवाको भिडिओलाई लिएर कांग्रेस नेता खड्का-महतबीच नोकझोंक
बूढानिलकण्ठमा भएको आन्तरिक छलफलमा देउवा मनपर्छ भन्ने भिडिओबारे कुरा निस्केको थियो। त्यसबेला महामन्त्री पूर्णबहादुर खड्काले त्यसरी भिडिओ सार्वजनिक गरिरहनु नपर्ने बताएका थिए। महतले भिडिओलाई लिएर सामाजिक सञ्जालमै नेताहरूले चर्चा गरेकोमा आलोचना गरेका थिए।