नेकपा एमाले सांसद महेश बस्नेतले स्वास्थ्य मापदण्ड पूरा नगरी परीक्षा लिइएकोमा सरकारसँग जवाफ मागेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद बस्नेतले विद्यार्थीहरूका लागि वैकल्पिक उपाय किन अविलम्बन नगरिएको भन्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रश्न गरेका थिए।
खोपमा अनियमितता भएको भन्दै उनले खोप प्रमाणपत्र लिनका समेत सास्ती भोग्नुपरेको विषय बैठकमा उठाएका थिए।
'खोप लगाउने र खोप प्रमाणपत्र लिन जनतालाई किन सास्ती ? यसलाई सहजीकरण गर्ने योजना के छ ?,'उनले प्रश्न गरे,'मेयर, कांग्रेस उपसभापतिको घरमा, होटलमा खोप देखियो, धनकुटा नेपाली कांग्रसको लेटर प्याडमा तपाईं मन्त्री स्वयमले तोक लगाएर खोप पठाउनु भएको छ। यो बारेमा तपाईंलाई नैतिकताको प्रश्न उठ्छ कि उठ्दैन?'
११ हजार विद्यार्थी एमबिबिएस पढ्न चाहेको तर क्षमता १८२५ जनाको लागि मात्रै रहेको भन्दै उनले बाँकी ९ हजार विद्यार्थी विदेश जान बाध्य भएको समेत उनले बताएका थिए।
साथै, भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनुपर्नेमा समेत उनको जोड थियो।
'९० अर्ब विदेश जाँदैछ यो बारेमा विगतमा दिएका सम्बन्धन रद्द गर्ने भन्दै हुनुहुन्छ, तपाईं स्वास्थ्य माफियासँग मिल्नु भाको त होइन ? यसमा तपाईंको योजना के छ ?'उनले भने,'भक्तपुरका क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र, क्षयरोग केन्द्र लगायतका लागि ४ अर्ब बजेट छुट्टिएको छ, यसलाई भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि प्रक्रिया अगाडि बढाइयोस्।'