नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले अब सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताएका छन्।
सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै ओलीले सशक्त प्रतिपक्षीसँग कोही सिँगौरी खेल्न आए उनीहरूको सिङ नै भाँचिदिने चेतावनी दिएका हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका अदालतको परमादेशबाट बनेको आफ्नो तर्क दोहोर्याउँदै उनले एक महिनासम्म मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै व्यंग्य गरे।
‘भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ मेलम्ची, भत्काइदेऊ सडक पुल र विमानस्थलहरू, ओली याद आउने सबै चिजहरू,’ ओलीले बैठकमा भने।
कांग्रेसको आन्तरिक विवादलाई इंगित गर्दै ओलीले हिजो आफ्नो पार्टीको समस्याले सदन विघटन गर्न पाइन्छ? भन्नेहरूको पार्टीको किचलो छरपष्ट भएको भन्दै अब आफ्नो पार्टी र गठबन्धनको समस्याको कारण राष्ट्रको समय बर्बाद गर्न पाइन्छ? भन्ने प्रश्न गरे।
उनले सरकारको न्यूनतम कार्यक्रम आफूहरूविरूद्ध गाली गलौजको पुलिन्दा हो भएको बताए।
‘असंवैधानिक र अपवित्र नन्दीभृंगी जालीझेलीहरूको गठबन्धन हो। भ्रष्टाचारीलाई कारबाही गर्ने रे। माओवादी शिविरको भ्रष्टाचार, विगतको लुट, निजी सम्पत्ति कब्जा पनि छानबिन हुन्छ?,’ ओलीले प्रश्न गरे, ‘वाइड बडी, बालुवाटार जग्गा प्रकरण, सुन तस्करी काण्ड कहिले भयो? संलग्न गठबन्धनका नेताहरूलाई कारबाही गर्न सक्नुहुन्छ? कि झुठो मुद्दा लगाएर विपक्षीलाई फसाउने षडयन्त्र गर्ने प्लान हो।’
उनले अहिलेको सरकार एमसिसी प्रष्ट नभएको त्यो संशोधनसहित पारित हुनुपर्ने बताए।
‘एमसिसीबारे किन बोल्न नसकेको, तपाईंहरूकै पालामा सम्झौता गरेको होइन? १ सय ६५ को किर्तिमान मतले विश्वासको मत लिएकै छ त पास गर्नु नि किन हामीलाई दोष? हामी त स्पष्ट छौं। हाम्रो पार्टीले बनाएको कार्यदलले दिएको सुझाव र वुद्धिजीवी र विज्ञहरूले दिएको सुझावका आधारमा जनताको भावनाअनुसार संशोधनसहित पास हुनु पर्दछ भन्ने हाम्रो मान्यता हो,’ उनले भने।
भूमि आयोग विघटन गरेकोमा पनि उनले आक्रोश व्यक्त गरे।
‘सरकार हामीसँग वार्ता र सहकार्य नगर्ने मानसिकतामा छ। भूमिहीन र सुकुम्बासी समस्या समाधान आयोग खारेजीको निर्णय एउटा उदाहरण हो। पुराना सबै नियुक्ति खारेज गर्ने। यसैको उदाहरण हो। हामी सशक्त प्रतिपक्षको भूमिका खेल्छौं। सडक र सदनमा सशक्त र प्रभावकारी भूमिका खेल्छौ। सिगौंरी खेल्न आए सिङ भाँचिनेछ,’ ओलीले भने।
उनले सरकारको कार्यक्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्याको रूपमा देखिएको बताए।
‘राष्ट्रको यत्रो उपलब्धि विचरा कम्फरटेबल गठबन्धनलाई समस्या भएछ,’ उनले भने।
पार्टीकव आन्तरिक विवादमा वरिष्ठ नेता माधवकुमार नेपालबारे आफूले केही नभन्ने ओलीले बताए।
‘माधव नेपालहरूको बारे केही भन्नु छैन। पुष्पकमल दाहालसँग मिलर यो पार्टी ध्वस्त पार्न लाग्नुभयो। देउवासँग मिलेर आफ्नो सरकार ढालेर दक्षिणपन्थी गठबन्धन बनाउन लागे। साथीहरू माधव जीलाई केही नभन भन्नुहुन्छ,’ ओलीले भने,‘म भन्न पनि चाहन्नँ, धेरै साथीहरूले कुरा बुझिसके। बिस्तारै सबै फर्कनुहुन्छ। छिटो-छिटो आएर पार्टीलाई गति दिन अनुरोध गर्दछु। तर पार्टी काम रोक्ने गुट र समानान्तर गतिविधि भइरने अवस्था अन्त हुनेछ।’