गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पदबहाली गरेका छन्।
सोमबार प्रदेश सदरमुकाम पोखरामा एक विशेष कार्यक्रमबीच प्रदेश प्रमुख गुरूङले पदबहाली गरेका हुन्।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश प्रमुखमा रहेकी सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई सिफारिस गरेको थियो।
गण्डकीका प्रदेश प्रमुखमा नियुक्त भएका गुरूङ चितवनका पुराना कांग्रेस नेता हुन्। लामो समयदेखि कांग्रेसको राजनीति गरेका गुरुङ पहिलो पटक लाभको पदमा पुगेका हुन्।
पदबहाली पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रदेश प्रमुख गुरूङले संघीय लोकतन्त्रलाई संस्थागत गर्नु आफ्नो प्रमुख दायित्व रहेको बताए।
संघीय सरकारले संविधान अनुसार गण्डकी प्रदेशको अभिभावकीय जिम्मेवारी दिएर पठाएकोले आफ्नो कार्यकाल भरी लोकतान्त्रीक गणतन्त्रको पक्षमा काम गर्ने पनि प्रदेश प्रमुख गुरुङले बताए।
यसअघि नेकपा माओवादी केन्द्रका नेता अमिक शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए। अघिल्लो सरकारले शेरचनलाई हटाएर वैशाख २० गते सीता पौडेललाई नियुक्त गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १२ गते मन्त्रिपरिषद्को सिफारिसमा गुरूङलाई गण्डकी प्रदेशको प्रमुखमा नियुक्त गरेकी थिइन्। यस्तै सीता पौडेललाई नियुक्त गर्दा हटाइएका अमिक शेरचनलाई लुम्बिनी प्रदेशको प्रमुखमा नियुक्त गरिएको छ।
यसअघि नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ (ख) ले गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई आज बन्दीपुरको डुम्रेमा स्वागत तथा सम्मान गरेको छ।
पोखरा जाने क्रममा प्रदेश प्रमुख गुरुङलाई सो पार्टीले स्वागत तथा सम्मान गरेको हो। सो अवसरमा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने उल्लेख गर्दै अब आफू जनताको प्रतिनिधि भएकाले जनताकै चाहना अनुसारको जिम्मेवारी वहन गर्ने बताए।
कांग्रेस महासमिति सदस्य रामचन्द्र अधिकारीले एक सच्चा, इमान्दार र कर्तव्यनिष्ठ व्यक्तिलाई प्रदेश प्रमुखमा पाउनु सौभाग्यको कुरा भएको बताएको राससले जनाएको छ।
कांग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, वडासभापति सुबोध अधिकारी, महिला नेतृ सरिता पियालगायतले प्रदेश प्रमुख गुरुङको कार्यकालमा गण्डकी प्रदेशमा उत्कृष्ट कार्य हुने विश्वास व्यक्त गरे।