गृहमन्त्री बालकृष्ण खाणले देशका विभिन्न नदी तथा खोलामा रहेका तुइन तत्कालै हटाएर उक्त स्थानमा झोलुंगे पुल निर्माण अगाडि बढाउन निर्देशन दिएका छन्।
दार्चुलामा तुइनबाट खसेर गत शुक्रबार जयसिंह धामी बेपत्ता छन्। भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइनको डोरी काट्दा धामी बेपत्ता भएकोबारे गृह मन्त्रालयले अनुसन्धान गरिरहेको छ।
यो ठाउँमा झोलुंगे पुल बनाउन पहिले नै ठेक्का लागे पनि अहिलेसम्म पुल बनेको छैन। भारतीय पक्षले पुल बनाउन समन्वय गर्न नमानेको र सामान अभावलगायत कारण देखाएर ठेकेदारले पुल बनाएका छैनन्।
आज गृह मन्त्रालयमा भएको विपद व्यवस्थापन सम्बन्धी बैठकमा बोल्दै गृहमन्त्री खाणले तुइन भएका स्थानमा तत्कालै पुल राख्ने व्यवस्थापन मिलाउन निर्देशन दिएका छन्।
‘तुइन हटाएर तत्कालै झोलुंगे पुल निर्माण अगाडि बढाउन आग्रह गर्दछु,’ उनले भने। साथै बाढीपहिरोले सडक अवरूद्ध रहेका स्थानमा तीन तहका सरकारबीच समन्वय गरी सडक खुलाउन गृहमन्त्री खाणको निर्देशन छ।
साथै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको चनौटे बजारस्थित बाढीले बगाएको पुलको विकल्पमा नयाँ पुल राख्न पनि गृहमन्त्री खाणले निर्देशन दिएका छन्। आज बिहान आएको बाढीले पुल बगाएको थियो।