नेपाली कांग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ।
आइतबार श्रेष्ठ निवासमा उनीहरूबीच भेटवार्ता भएको हो।
उनीहरू दुबै जना १४ औं महाधिवेशनमा सभापति उठ्ने तयारी गरिरहेका छन्। श्रेष्ठका स्वकीय सचिव सुयोग चापागाईंका अनुसार दुई नेताबीच समसामयिक राजनीति र कांग्रेसको महाधिवेशनबारे कुराकानी भएको छ।
शनिबार उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री सिंहबीच भेटवार्ता भएको थियो। उनीहरूबीच भेट भएको भोलिपल्ट श्रेष्ठ र सिंहबीच कुराकानी भएको छ।
श्रेष्ठ कांग्रेसमा संगठन विभाग प्रमुख छन्। उनी सभापति शेरबहादुर देउवानिकट हुन्। तर उनले सभापतिमा अब देउवाले आफूलाई सहयोग गर्नुपर्ने धारणा राखिरहेका छन्।
कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने भनेको छ। तर क्रियाशील सदस्यता विवाद र कोरोना जोखिम रहेकोले महाधिवेशन प्रभावित हुन सक्ने आकलन भइरहेका छन्। तर नेताहरूले भने महाधिवेशन भदौमै हुनुपर्ने नभए पार्टी संवैधानिक रूपमा संकटमा पर्ने बताइरहेका छन्।