सत्तारूढ एमालेभित्रको विवाद र विजनेस अभावका कारण तीन सातादेखि अवरूद्ध प्रदेश १ को संसद् बैठक साउन २१ बाट सुरू हुने भएको छ।
प्रदेश सभाको संसद सचिवालयले आज जारी गरेको सूचनाअनुसार बैठक २१ गते बिहीबार १ बजेका लागि आह्वान गरिएको छ। गत असार २५ गते अर्को सूचना जारी नभएसम्मका लागि भन्दै प्रदेश सभा बैठक स्थगित भएको थियो।
‘प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको बाइसौं बैठक मिति २०७८ साल साउन २१ गते बिहीबार दिनको १ बजे प्रदेश सभा हल, प्रदेश नम्बर १, विराटनगरमा बस्ने व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’ प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा उल्लेख छ ।