विभिन्न चार बुँदे माग राख्दै सत्तारुढ गठबन्धनका पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन्।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले शनिबार प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाएका हुन्।
विद्यार्थी संगठनले महाकाली नदीमा तुइनको तार काटेकोमा सो घटनाको छानविन गर्न माग गरेका छन्। तुइन काट्ने व्यक्तिलाई कारबाही र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गरिएको छ।
उनीहरूले तत्काल भारतीय पक्षसँग स्पष्टीकरण सोध्न माग गरेका छन्।
यस्तै, धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति बर्खास्त गरी समस्या समाधान गर्न माग गरिएको छ।
मध्यविश्चिम विश्वविद्यालयमा भएको विद्यार्थी आन्दोलनका जायज माग सम्बोधन गर्न, विश्वविद्यालयमा उपकुलपति, पदाधिकारीहरू राजनीतिक भागबण्डाबाट नभएर खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गर्न माग गरिएको छ।
नेविसंघ महामन्त्री दिपक भट्टराईले आफूहरूका मागमा प्रधानमन्त्री देउवा सकारात्मक भएको बताए।
प्रधानमन्त्री देउवाले माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेको उनको भनाइ छ।