लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदबहाली गरेका छन्। गत मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी प्रदेशको तेस्रो प्रदेश प्रमुखको रूपमा शेरचनलाई नियुक्त गरेकी थिईन्।
शेरचनले शुक्रबार प्रदेश प्रमुख कार्यालयमा पदबहाली गरेका हुन्। पदवहाल गर्दै प्रदेश प्रमुख शेरचनले संविधानभन्दा माथि कोही पनि नभएको र संविधान मिच्ने काम कहिकतैबाट हुन नहुने बताए।
उनले संविधानलाई आफू अनुकुल व्याख्या गर्ने र मिच्ने काम कतैबाट गर्न नहुने र आफूले पनि जिम्मेवारीमा रहँदासम्म संविधानभन्दा बाहिर गएर कुनै काम नगर्ने प्रतिवद्धता व्यक्त गरे।
यसअघि गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी वहन गरिसकेका शेरचनले लुम्बिनी प्रदेश प्रमुखको रूपमा साझा सहमती र सहकार्यका साथ अगाडि बढ्ने समेत बताए। उनले कुनै पनि विवाद उत्पन्न हुने किसिमले आफूले काम नगर्ने र शान्ति र संवैधानिक तरिकाले प्रदेश चलाउने प्रतिवद्धता जनाए।
उनले गण्डकी प्रदेश प्रमुख रहँदा र हटाईदाको अवस्थाबारे स्मरण गर्दै अहिले फेरि देशको आवश्यकताले आफू लुम्बिनी प्रदेश आएको बताए। शेरचनले नेपालमा नयाँ प्रयोगको रुपमा संघीय व्यवस्था लागू गरिएको उल्लेख गर्दै तिनै तहका सरकारको सहकार्य र एकताले नै संघीयता कार्यान्वयनमा सफलता मिल्ने बताए।
शुक्रबार बिहान मात्रै काठमाडौंबाट रूपन्देही आएका शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीहरुले पुष्प गुच्छाले स्वागत गरेका थिए।
२०७६ कात्तिक १८ गते केपी ओली नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरेका धर्मनाथ यादवलाई शेरबहादुर देउवा सरकारले गत मंगलबार पदमुक्त गरि शेरचनलाई नियुक्त गरेको थियो।
त्यसअघि २०७४ साल माघ ७ गते पहिलो लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त भएका उमाकान्त झालाई केपी ओली नेतृत्वको सरकारले पदमुक्त गरि यादवलाई नियुक्त गरेको थियो। त्यतिबेला नै गण्डकी प्रदेश प्रमुख रहेका शेरचन हटाएर सीता कुमारी पौडेललाई नियुक्त गरिएको थियो।