गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिकामाथि भइरहेकाे हिंसा राेक्न सरकार अत्यन्तै संवेदनशील र गम्भीररूपमा अगाडि बढ्ने बताएका छन्।
उनले सरकारकाे प्राथमिकता नागरिकको जीवन रक्षा रहेको भन्दै खुलारूपमा निर्वाद ढंगले जनताले बाँच्न पाउने सुरक्षा अनुभूति हुने सुरक्षा राज्यले प्रदान गर्ने बताए।
बुधबार गृह मन्त्रालयमा अन्तरपार्टी महिला सञ्जालसँग गृहमन्त्री खाँणले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।
महिला तथा बालबालिकामाथि बढिरहेको हिंसाप्रति गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराउन महिला सञ्जाल गृह मन्त्रालय पुगेको थियो।
बुधबार गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै सञ्जालले पछिल्लो समयमा महिला तथा बालबालिकामाथि बलात्कार, हत्याजस्ता अमानवीय र क्रूर घटनालगायत जघन्य प्रकारको मानव अधिकार विरोधी कार्य भइरहेकाेप्रति गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हाे।
सञ्जालले लकडाउनको समय घरेलु हिंसा बढेको र यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
ज्ञापनपत्र बुझ्दै गृहमन्त्री खाँणले महिला तथा बालबालिका हिंसा राेक्न अत्यन्तै संवेदनशील र गम्भीररूपमा अगाडि बढ्ने बताए।