सरकारले दुई प्रदेशका प्रदेश प्रमुख फेरेको छ। केपी शर्मा ओली सरकारले प्रदेश प्रमुख बनाएका गण्डकीकी सीता पौडेल र लुम्बिनीका धर्मनाथप्रसाद यादवलाई हटाएको हो।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीमा पृथ्वीबहादुर गुरूङ र लुम्बिनीमा अमिक शेरचनलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो।
मन्त्रिमपरिषद्ले सिफारिस गरेका उनीहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने छन्।
लुम्बिनीका प्रदेश प्रमुख बनेका शेरचन यसअघि गण्डकीका प्रदेश प्रमुख थिए। नेकपा एमाले विघटन भएपछि ओली सरकारले उनलाई हटाएर पौडेललाई गण्डकीकी प्रदेश प्रमुख बनाएको थियो।
नयाँ प्रदेश प्रमुख बनाउँदा सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रले एक-एक भागबन्डा गरेका हुन्। शेरचन माओवादी केन्द्रको कोटामा प्रदेश प्रमुख बनेका हुन्।
गण्डकीका प्रदेश प्रमुख बनेका गुरुङ चितवन कांग्रेसका पूर्वसभापति हुन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक पूर्ववर्ती सरकारले गरेको नियुक्ति फेरिएको हो।
यो सँगै प्रदेश २ का प्रदेश प्रमुखलाई पनि हटाउने तयारी भइरहेको छ।