प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानमन्त्रीले शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न निर्देशन दिएका हुन्।
निर्मला हत्या प्रकरणको आज तीन वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्रीले चासोपूर्वक दोषी पत्ता लगाउन र कारबाही गर्न निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले गृहमन्त्री र प्रहरी प्रमुखसँग सो प्रकरणमा हालसम्म भएको अनुसन्धानबारे जानकारी लिए।
‘निर्मला पन्तको हत्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु,’ प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन्।
कञ्चनपुरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या भएको आज (साउन १० गते) ३ वर्ष पूरा भएको छ। विसं २०७५ साउन १० गते विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा स्थानीय उखुबारीमा भेटिएकी थिइन्।
जघन्य अपराध भएको तीन वर्ष बित्दासमेत अनुसन्धान निष्कर्षमा पुग्न नसकेको तथा दोषी पत्ता लाग्न सकेको छैन।