भोजपुरका उमेश श्रेष्ठको पहिचान निजी विद्यालय सञ्चालनसँग जोडिन्छ। उनले करिब चालीस वर्ष नेपालमा निजी क्षेत्रको शिक्षामा बिताएका छन्।
यद्यपि २०७० सालदेखि श्रेष्ठको पहिचान बदलियो। उनी नेपाली कांग्रेसका 'नेता' का रूपमा पनि चिनिन थाले।
श्रेष्ठलाई तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले राजनीतिमा 'स्पेस' दिए। कोइराला सरकारले २०७१, भदौमा उनलाई पहिलोपटक सांसद मनोनित गर्यो। कतिपयले त्यो बेला पनि शेरबहादुर देउवाको सिफारिसमा कोइरालाले श्रेष्ठलाई सांसद मनोनित गरेको दावी गरेका छन्।
संविधानसभामा सरकारले २६ जना सांसद मनोनित गर्न पाउँथ्यो।
व्यवस्थापिका संसदको सदस्य भएपछि श्रेष्ठले राजनीतिमा दायरा फराकिलो बनाउन थाले। कांग्रेसमा नेताहरूसँग पनि सम्बन्ध बढाए। उनले पार्टी राजनीति पनि त्यसै बेलादेखि सुरू गरेका हुन्। भोजपुरका उनी चितवनबाट कांग्रेस क्रियाशील सदस्य छन्, २०७२ सालमा भएको १३ औं महाधिवेशनदेखि।
चितवन कांग्रेसका एक नेताका अनुसार १३ औं महाधिवेशनमा उनी महासमिति सदस्य निर्वाचित भए। चितवन क्षेत्र नम्बर साविक ५ र अहिले ३, माडीबाट श्रेष्ठ महासमिति सदस्य छन्।
श्रेष्ठले भरतपुर महानगरपालिका वडा नम्बर ५ कल्याणपुरमा घर बनाएका छन्। चितवनमा उनको व्यवसाय पनि बिस्तार गरेका छन्। उनका होटल, कृषि फार्म र स्कुल छन्। तर चितवनको कांग्रेस राजनीतिमा भने श्रेष्ठको खासै चासो वा सहयोग नरहेको पार्टीका एक स्थानीय नेताले बताए।
'उहाँले चितवनमा पार्टीलाई खासै सहयोग गर्नुभएको छैन। माथिमाथि नै सहयोग गरेको सुनिन्छ,' ती नेताले भने, 'उहाँले माथिमाथि नै मिलाउने हो, तल खासै सहयोग गर्नुभएको छैन।'
संविधान निर्माणमा विज्ञहरूलाई ठाउँ दिन अन्तरिम संविधान २०६३ अनुसार मन्त्रिपरिषदबाट सांसदहरू मनोनित गर्ने व्यवस्थाको फाइदा उठाएर २०७१ सालमा श्रेष्ठ सांसद बनेका थिए। उनी त्यो बेला सांसद बन्नुमा पार्टीलाई गरेको आर्थिक सहयोग एक मात्र कारण थियो। त्यसबेला व्यापारीहरूलाई सांसद बनाएको भनेर विरोध पनि भएको थियो।
श्रेष्ठले भने पार्टी र पार्टीको नेतृत्वमा बस्ने नेताहरूलाई सहयोग गर्ने क्रम घटाएनन्, बरू बढाए। शीर्ष तहमा रहेका नेतासँगको सम्बन्ध बिस्तारलाई तीव्रता दिए। फलस्वरूप उनी २०७४ सालको निर्वाचनबाट कांग्रेसबाट फेरि सांसद बने।
सुशील कोइरालामार्फत कांग्रेस छिरेका श्रेष्ठको सुरूदेखि नै सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध थियो। देउवाले नै आदिवासी-जनजाति कोटाबाट श्रेष्ठलाई समानुपातिकतर्फ सांसद बनाए।
त्यो चुनावताका श्रेष्ठले पार्टीलाई ठूलो रकम सहयोग गरेको एक नेताले दावी गरे। 'चुनावताका सभापतिजीमार्फत पार्टीलाई तीन करोड ६० लाख सहयोग गरेको सुनिन्थ्यो,' उनले भने।
कांग्रेसमा क्रियाशील सदस्यको लेवीबाट आएको रकमबाहेक आर्थिक हिसाब कमै राख्ने गरिन्छ। लेवीबाट खासै धेरै पैसा उठ्दैन पनि। 'पार्टी सञ्चालन र पार्टीले आयोजना गर्ने सानादेखि ठूला कार्यक्रममा पनि आर्थिक भरथेग गर्ने उहाँ नै हो,' ती नेताले भने।
पार्टीका कार्यक्रममा मात्र होइन, पार्टीका सानादेखि ठूला नेतासम्मलाई पर्ने धेरै भरअभर श्रेष्ठले नै टार्ने गरेको अर्का एक नेताले बताए।
'उहाँले पार्टीमा संस्थागत भन्दा पनि व्यक्तिगत रूपमा सहयोग गर्ने हो,' उनले भने, 'व्यक्तिगत रूपमा कसले कसलाई कति सहयोग गर्यो भन्ने लिने र दिनेबीच मात्रै थाहा हुन्छ। पार्टीमा त त्यो हिसाब देखिन्न।'
शिक्षा क्षेत्रबाट ठूलो धनराशी जोडेका श्रेष्ठले पछिल्लो समय आफ्नो व्यापार र व्यवसायका दायरा बढाउँदै लगेका छन्। लिटल एन्जल्स स्कुलका उनी संस्थापक अध्यक्ष हुन्। उनले बैंकिङ, जलविद्युत, होटल, कृषिका साथै पछिल्लो समय स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेका छन्।
हालै श्रेष्ठले काठमाडौं बालाजुस्थित जनमैत्री अस्पताल किनेका छन्। सो अस्पताल उनले पूर्व अर्थमन्त्री युवराज खतिवडाका जेठा छोरा दीपेन्द्र खतिवडा र स्वास्थ्य क्षेत्रमा व्यवसाय गरिरहेका उमेश पाण्डेसँग मिलेर किनेको अस्पताल श्रोतले बतायो। जनमैत्री र महेन्द्र नारायण निधि अस्पताल ट्रष्टमा उनी अध्यक्ष छन्। अस्पताल र नर्सिङ होम गरेर उनका आधा दर्जन परियोजना छन्।
उनी प्रवर्द्धक भएका आधा दर्जनभन्दा धेरै जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन्। होटल र पर्यटन क्षेत्रमा पनि उनले आक्रामक रूपमा व्यवसाय विस्तार गर्दै आएका छन्। चितवन, धुलिखेल, तनहुँ, पोखरा गरेर सञ्चालनमा आएका र निर्माणाधीन गरी उनका आधा दर्जन होटल र रिसोर्ट छन्।
शिक्षा क्षेत्रबाट उदाएर आफ्नो व्यवसाय यति धेरै फैलाउनेमा उनको नाम अग्रणी स्थानमा आउँछ। सबै व्यवसाय जोडेर उनीसँग १५ देखि २० अर्बको सम्पत्ति भएको अनुमान छ।
२०१२, माघ २० मा भोजपुरमा जन्मेका श्रेष्ठले बिए र बिएडसम्म अध्ययन गरेका छन्। उनी माध्यमिक विद्यालय एसोसिएसन (हिसान) का प्रमुख सल्लाहकार हुन्। २०६६ देखि ०७० सम्म उनी हिसानका अध्यक्ष थिए। यस्तै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मा उनी २०५८ देखि ०६० र ०६० देखि ०६२ सम्म दुई कार्यकाल लगातार अध्यक्ष थिए। अहिले पनि प्याब्सनका सल्लाहकार छन्।
केही समय उनी बैंक सञ्चालक पनि रहे। प्राइम कमर्सियल बैंक २०७० देखि ०७४ सम्म उनकै नेतृत्वमा चल्यो।
कोरोना महामारीका बेला श्रेष्ठले पार्टी जिम्मेवारीमा रहेर काम पनि गरेका थिए। कोरोनाले लगानी, पूर्वाधार र रोजगारीमा असर पारेकाले अध्ययन गर्न कांग्रेसले सांसद बिनोद चौधरीको नेतृत्वमा समिति बनाएको थियो। १५ सदस्यीय उक्त समितिमा व्यापारी, उद्योगी पृष्ठभूमिका नेतालाई कांग्रेसले जिम्मेवारी दिएको थियो। त्यो समितिका सदस्य श्रेष्ठ पनि थिए।
गत साउन ३ गते विश्वासको मत पाएका प्रधानमन्त्री देउवाले मन्त्रिमण्डल बिस्तार गर्न सकेका छैनन्। १७ मन्त्रालय आफैंसँग राखेका छन्। कोरोना महामारीसँग जुध्नुपर्ने बेलामा विशेषगरी स्वास्थ्य मन्त्रालय खाली राखेकामा उनको आलोचना भइरहेको छ। प्रधानमन्त्रीका रूपमा सपथ लिने बेलामै उनले पूर्व स्वास्थ्यमन्त्री गगन थापालाई उक्त मन्त्रालय जिम्मा दिने अड्कल धेरैले काटेका थिए। थापा स्वास्थ्य मन्त्रालय हाँक्न इच्छुक पनि थिए। तर उनले कांग्रेसका दुई मन्त्रीसहित सपथ लिँदा स्वास्थ्य मन्त्रालय कसैलाई दिएनन्।
अहिले आएर थापाको आकांक्षालाई श्रेष्ठको चाहनाले जितेको देखिएको छ।
प्रधानमन्त्री नियुक्त भएको करिब दुई साता हुन लाग्दा देउवाले आफूसँग अति निकटको सम्बन्ध भएका श्रेष्ठलाई राज्यमन्त्रीका रूपमा नियुक्त गरेर स्वास्थ्य मन्त्रालयको जिम्मा दिएका छन्।
निर्वाचित सांसद नरहेको, कांग्रेसमा राजनीति गरेको लामो पृष्ठभूमि पनि नभएको र स्वास्थ्य क्षेत्रको समस्या बुझ्ने वा कोरोनासँग लड्ने रणनीति तय गर्न उनको अनुभव वा कुनै विशिष्ट क्षमता नदेखिएको सन्दर्भमा प्रधानमन्त्रीले उनलाई मन्त्रालयको जिम्मा किन दिए भन्ने प्रश्न उठेको छ।
पार्टी सभापतिका रूपमा देउवा र कांग्रेसलाई आर्थिक सहयोग गरेको आधारमा मात्र कोरोनाकालमा स्वास्थ्य जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी श्रेष्ठलाई दिएकोमा प्रधानमन्त्रीको आलोचना भएको छ। प्रधानमन्त्रीबाट आइतबार अपराह्न सिंहदरबारमा राज्यमन्त्रीको सपथ लिएपछि श्रेष्ठले नेपालका सरकारी अस्पताल व्यवस्थापन गर्ने बताए।
'स्वास्थ्यको इन्चइन्च समस्या थाहा छ। सरकारी अस्पतालको राम्रो व्यवस्थापन गर्छु,' उनले भने। साथै उनले कोरोनाविरूद्ध खोप सबै जनताको पहुँचमा पुर्याउने पनि बताए।
'उपलब्ध खोप चाँडै लगाउने व्यवस्था मिलाउने र थप खोप खरिद गर्ने कामलाई प्राथमिकतामा राखेको छु,' श्रेष्ठले भने।