जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) ले आफ्ना सांसद र कार्यकारिणी समितिका सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ।
उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्ना पक्षका नेता र सांसदलाई आइतबार प्रशिक्षण दिने भएका हुन्।
आज बसकेको कार्यकारिणी बैठकको निर्णय अनुसार समसामयिक राजनीतिक सम्बन्धमा प्रशिक्षण दिन लागिएको स्रोतले सेतोपाटीलाई जानकारी दियो।
आजको बैठकले संसदीय दलको विधान अनुमोदन सम्बन्धमा, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठन सम्बन्धमा, प्रशिक्षण अभिमुखिकरण सम्बन्धमा, अदालत र निर्वाचन आयोगमा मुद्दाबारे अख्तियारी दिने सम्बन्ध लगायतमा छलफल गरेको थियो। बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको थियो।
पार्टीमा उपेन्द्र यादव पक्ष र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षबीच आधिकारिकताको विषयलाई लिएर विवाद छ।
यही विवाद सल्टाउन आधिकारिकता विवादमा सनाखतका लागि निर्वाचन आयोगले कार्यकारी सदस्यहरुलाई नै उपस्थित हुन बोलाएको छ।
आयोगले साउन ११ गते ११ बजे नागरिकतासहित कार्यकारी सदस्यलाई आयोगमा उपस्थित हुन भनेको छ।
पार्टीको आधिकारिकता दाबी गर्दै उपेन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले पनि आफ्नो दाबी पेश गरेका थिए।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गरेपछि महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहबीच विवाद बढेको थियो ।
निरन्तर दुई सातासम्म एक अर्कामाथि कारबाहीको श्रृंखला चलाउँदै निर्वाचन आयोगसम्म पुगेका दुवै पक्षले अन्त्यमा मिल्ने नसकिने भन्दै आ–आफ्नो बाटो लाग्ने सहमति गरेका थिए ।
तर, विभाजित भए पनि पार्टी चाहिँ कसको पक्षमा रहने भन्ने विवाद कायमै छ। उपेन्द्र पक्षले भने केन्द्रीय कार्यकारिणीको बहुमत निर्णयसहित दाबी गरेको छ ।
यता महन्थले पनि पुस ७ गतेको निर्णयलाई नै आधार मानेर कार्यकारिणी समिति हेरफेर गरी आयोगमा विवरण बुझाएका छन्। जसपाको संसदीय दल र केन्द्रीय कार्यकारिणी समितिमा उपेन्द्र यादवकै बहुमत छ।