एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेता भीम रावललाई भेटेर फर्किएका छन्।
हालै सांसद पदबाट राजीनामा दिएका रावललाई भेट्न नेपाल उनको निवास टोखामा पुगेका थिए।
नेपालले राजीनामाका सम्बन्धमा अझै पनि पुनर्विचार गर्न मिल्ने सुझाव दिएका छन्। सांसद पदबाट राजीनामा दिएपछि नेपाल पक्षको बैठकमा पनि रावल अनुपस्थित हुने गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको रूपमा विश्वासको मत लिने बेला साउन ३ गते रावलले सांसद पदबाटै राजीनामा दिएका थिए।
२०७४ सालको प्रतिनिधि सभामा अछाम बाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका थिए।
नेता नेपालको खेमामा रहेका रावल केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक थिए। रावललाई अध्यक्ष ओलीले माधव नेपालसँगै पार्टीबाट कारवाही गर्ने र कारवाही फिर्ता लिने कार्य समेत गरेका थिए।