नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले विधान भन्दाबाहिर गएर बाँडिएको क्रियाशील सदस्यता स्वीकार नहुने बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका बारा र सर्लाहीका कार्यकर्ताको गुनासो सुन्दै उनले विधान विपरीत बाँडिएको सदस्यता खारेज हुनुपर्ने बताए।
मंगलबार कोइराला धर्नामा ऐक्यवद्धता जनाउन सानेपा पुगेका थिए।
धर्नामा बसेकाहरूलाई कोइरालाले आफू क्रियाशील सदस्यतामा भएको धाँदलीविरूद्धको लडाइँमा सँगै रहेको बताए।
‘यसप्रकारको सदस्यता खारेज हुनुपर्छ, म यो लडाइँमा अन्तिमसम्म साथ दिन्छु,’ धर्नामा बसेकाहरूलाई उनले भने।
कोइरालाले पार्टीको कुनै पनि तहमा बसेर काम गर्नेहरूमाथि हुने अन्याय सहेर नबस्ने पनि बताएका थिए।
महाधिवेशन नजिकिँदै जाँदा बारा र सर्लाहीका कांग्रेस कार्यकर्ताहरू क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी कार्यालयमा केही दिनयता धर्ना दिइरहेका छन्।