नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमणमा संलग्न रहेकाले स्पष्टीकरण बुझाएका छन्।
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलगायतले घिमिरेमाथि आक्रमण गरेका थिए। गत साउन १ गते घिमिरेमाथि गौशालास्थित क्रियाशील सदस्यता छानबिन समितिको कार्यालय (धर्मशाला) को गेटमा आक्रमण भएको थियो।
यो पनि: कांग्रेसमा क्रियाशील सदस्यता विवाद: पार्टी कार्यालयमा धर्ना, नेतामाथि लात्ती!
उक्त आक्रमणमा क्षेत्रीय सभापति बस्नेतसहित २५ जनाजति कांग्रेस कार्यकर्ता संलग्न थिए। घटना भएको भोलिपल्ट बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकले घटनामा संलग्नमाथि स्पष्टीकरण सोध्न र कारबाही गर्न निर्देशन दिएको थियो।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अनुशासन समितिलाई निर्देशन दिँदै स्पष्टीकरण सोध्न र आवश्यक कारबाही गर्न निर्देशन दिएका थिए।
सिन्धुपाल्चोकका नयाँ क्रियाशील सदस्यताबारे विवाद छ। छानबिन समितिमा सहमति नभएको क्रियाशीलको विवरण केन्द्रीय समितिमै फिर्ता भएको छ। अब शीर्ष नेताहरूले ती सदस्यता के गर्ने भन्ने यकिन गर्नेछन्।
घिमिरेमाथि आक्रमणमा संलग्न क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई मात्रै स्पष्टीकरण सोधिएको थियो। बस्नेतले सोमबार नै स्पष्टीकरण पत्र बुझाइसकेका छन्। बस्नेतको स्पष्टीकरण अनुशासन समितिमा आइसकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले सेतोपाटीलाई बताए।
‘हामीले क्षेत्रीय सभापतिलाई स्पष्टीकरण सोधेका थियौं। उहाँले पत्र पठाइसक्नुभएको छ। अब अनुशासन समितिको बैठक बसेर यसबारे अध्ययन गरी आवश्यक निर्णय लिन्छ,’ केसीले भने।
क्षेत्रीय सभापति बस्नेतले स्पष्टीकरण पत्रमा के उल्लेख गरेका छन् भन्ने खुलेको छैन।
केन्द्रीय अनुशासन समितिका संयोजक भीष्मराज आङ्देम्बेले यसबारे छिट्टै बैठक गरी आवश्यक निर्णय लिइने सेतोपाटीलाई बताए।
सभापति देउवाले २४ घन्टाभित्र स्पष्टीकरण लिएर ३ दिनभित्र कारबाही गरिसक्न निर्देशन दिएका थिए। सिन्धुपाल्चोकमा करिब एक हजार दुई सय क्रियाशील सदस्यता विवाद छ।
क्रियाशील सदस्यता वितरण तथा नवीकरणबारे केन्द्रीय सदस्य प्रदीप पौडेल र श्याम घिमिरेले बागमती र गण्डकी प्रदेश अन्तर्गतका जिल्ला तथा क्षेत्रीय कार्यसमितिका विवरण अध्ययन गरेका थिए। पौडेल र घिमिरेका कारण नयाँ क्रियाशील सदस्य थप नभएको भन्दै क्षेत्रीय सभापति बस्नेतसहित युवाहरूले गत साउन १ मा घिमिरेमाथि कुटपिट गरेका थिए।