प्रधानमन्त्री शेरबहादुर देउवाले यो सरकारलाई राष्ट्रिय सरकार बनाउन सकिने बताएका छन्।
खासखास बेलामा राष्ट्रिय सरकार बन्ने गरेको भन्दै देउवाले कोरोनाको बेला रहेकोले पनि राष्ट्रिय सरकार बनाउने भए आफू तयार नै रहेको बताएका हुन्।
आज प्रतिनिधि सभामा विश्वासको मत मागेका देउवाले नेकपा एमालेलाई पनि सरकारमा आउन आग्रह गरेका थिए। एमाले प्रतिपक्षमै बस्ने भए पनि रचनात्मक भूमिका खेल्न उनले आग्रह गरेका थिए।
उनले अगाडिका दिन चुनौतीपूर्ण रहेकोले मिलेर जान सबैमा आग्रह गरेका छन्। राष्ट्रिय सहमतिका साथ अगाडि बढ्न चाहेको पनि उनले बताए।
‘सकिन्छ भने अहिलेको बेला राष्ट्रिय सरकार बनाउन सकिन्छ,’ उनले भने।