प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार विश्वासको मत लिँदैछन्। प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिन लागेका हुन्।
प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले सम्बोधन गर्दै विश्वासको मत मागेका छन्। अहिले संसदमा नेताहरुले बोल्नेक्रम जारी छ। प्रधानमन्त्रीज्यू प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयले मत विभाजनको तयारी पूरा गरेको छ।
प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिन लागेका हुन्।
असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो। सोही अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन्।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन्। तीन जना स्वतन्त्र हैसियतमा छन्।