नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अदालतले नभएर संविधानको धारा व्याख्या गरिदिएको बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै अध्यक्ष प्रचण्डले भने, ‘शेरबहादुरजीलाई अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको होइन, संविधानको धारा ७६ को उपधारा ५ लाई अदालतले व्याख्या गरिदिएको मात्र हो।’
प्रचण्डले संसद पुनस्र्थापना गरिदिएको सर्वोच्च अदालतलाई धन्यवाद दिनुपर्ने बताए।
‘अहिले प्रतिपक्ष दलका साथीहरुलाई पनि संसद फेरि ब्यूँतिएकाले आनन्द भएको छ, म बुझ्छु नि,’ प्रचण्डले आइतबार संसदमा भने, ‘नेपालको संविधानको ७६ (५)लाई निकै राम्रोसँग व्याख्या गरिदिएको छ, यसले हामीलाई सर्वोच्चलाई धन्यवाद दिनुपर्छ ।’
माओवादी पार्टी र सात राजनीतिक दलबीच शान्ति सम्झाैता भएर एउटा राजनीतिक कोर्स अगाडि बढेको स्मरण गराउँदै उनले विगतको शिक्षा लिएर धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको सनकले संसद विघटन गर्छन् भनेर राखेको होइन? भनी पनि प्रश्न गरे।
जनताको मुटुमा छुरा रोपेर संसदको हत्या गर्दै हिँडेका ओलीले अहिले यसैको हत्या भएको भन्दै गोहीको आँशु झारेका उनको आरोप थियो। 'यही धाराको प्रयोग हुँदा त्यत्रो चिन्ता?' उनले सदनमा सोधे।
साथै उनले धारा ७६ मा रहेका उपधाराहरूको प्रयोगबारे पनि संसदमा बोलेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत माग्दै दाहालले माओवादी केही होइन भन्ने मानसिकता हटाउन पनि आग्रहसमेत गरे।
‘धेरै जसोलाई संसद पुनस्थापना भएकोमा आनन्द भएको छ । मैले बुझ्छु नी नबुज्ने होइन । विवेक प्रयोग गरेर शेरबहादुर देउवालाई विश्वासको मत दिऔँ इतिहास लेखौँ,’ उनले भने, ‘माओवादी केही होइन यसलाई मिचिदिए हुन्छ भन्ने ठाने केही साथिहरुले । फुटेको छ । यो केही होइन भनेर आगोसँग खेल्ने काम त्यति राम्रो होइन । हेप्न थाल्नु भयो, अपमान गर्न थाल्नु भयो भने आगो फेरि सल्किन थाल्छ ।’ उनले एमालेले माइनस गर्न खोजेको भन्दै आपत्ति जनाए ।