छिमेकी भारतमा नरेन्द्र मोदी २०७१ वैशाखदेखि प्रधानमन्त्री छन्। पाँच वर्षको पहिलो कार्यकाल सकेर अहिले मोदी दोस्रो कार्यकाल चलाइरहेका छन्।
यी सात वर्षमा नेपालमा भने पाँच पटक प्रधानमन्त्री फेरिइसकेका छन्। यीमध्ये नेपालमा नियुक्त भएका अघिल्ला चार प्रधानमन्त्रीलाई त्यही दिन वा अर्को दिन २४ घन्टाभित्रै भारतीय प्रधानमन्त्री मोदीले बधाई पठाएका थिए।
मोदीले उनीहरूलाई त्यही दिन नभए अर्को दिन टेलिफोनमा कुरा गरेर बधाई दिने र भारत भ्रमणको निम्तो दिने गरेका थिए भने सामाजिक सञ्जालमार्फत् पनि बधाई दिने गरेका थिए।
नेपाल भारत सम्बन्ध चिसिएको बेला र व्यक्तिगत रूपमा नेपालका प्रधानमन्त्रीसँग भारतको सम्बन्ध बिग्रिएका बेला पनि नवनियुक्त नेपाली प्रधानमन्त्रीलाई समकक्षी भारतीय प्रधानमन्त्रीले तत्कालै बधाई दिने चलन थियो।
२०७४ को प्रतिनिधि सभा निर्वाचनपछि मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनको गठबन्धनले बहुमत ल्याएको भन्दै बधाई दिएका थिए। २०७४ फागुन ३ गते संसदको झन्डै दुई तिहाइ बहुमतको समर्थनमा ओली दोस्रो पटक प्रधानमन्त्री चुनिए। त्यसको अर्को दिन फागुन ४ गते मोदीले फोन गरेर ओलीलाई बधाई दिए र भारत भ्रमणको निम्तो दिए।
त्यसअघि २०७४ जेठ २३ मा देउवा प्रधानमन्त्री नियुक्त हुँदा पनि मोदीले उनलाई तत्कालै फोनमा बधाई दिएका थिए। उनले ट्वीटरमार्फत् पनि देउवालाई बधाई भनेका थिए।
देउवाअघि प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नियुक्त भएकै दिन टेलिफोन गरेर बधाई दिए।
२०७२ असोजमा नेपालमा संविधान जारी भयो। भारतीय असहमतिका बाबजुद् नेपालमा संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गर्यो। त्यतिबेला एमाले अध्यक्ष ओलीले भारतीय नाकाबन्दीको चर्को विरोध गरेका थिए।
दुई देशको सम्बन्ध तनावपूर्ण भएका बेला २०७२ असोज २४ मा ओली कांग्रेसका सुशील कोइरालालाई हराएर प्रधानमन्त्री नियुक्त भए। त्यतिबेला भारतले कोइराला प्रधानमन्त्रीमा नियुक्त हुन् भनेर प्रयत्न गरेको थियो। त्यो बेला आफूसँग तिक्ततापुर्ण सम्बन्ध रहेका ओली प्रधानमन्त्री नियुक्त हुँदा पनि मोदीले सोही दिन टेलिफोन गरेर उनलाई बधाई दिए र भारत भ्रमणको निम्तो पठाए।
द्वीपक्षीय सम्बन्ध जस्तोसुकै भए पनि एक-अर्काका देशमा प्रधानमन्त्री फेरिए बधाई दिने पूरानै चलन हो।
२०७० माघ २७ मा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री भएका थिए। भारतीय समकक्षी मनमोहन सिंहले उनलाई सोही दिन बधाई दिएका थिए।
यसपालि शेरबहादुर देउवा पाँचौ पटक प्रधानमन्त्री नियुक्त हुँदा मोदीले यो चलन तोडेका छन्।
असार २९ गते नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भए। देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता बित्न लाग्दा पनि मोदीले कुनै माध्यमबाट पनि उनलाई बधाई दिएका छैनन्।
यत्रो दिनसम्म नेपालका समकक्षीलाई मोदीले बधाई नदिनुका पछाडि पछिल्लो समय झाँगिएको भारतीय संस्थापन र ओलीको सम्बन्ध कारण रहेको धेरैले विश्लेषण गरेका छन्।
त्यतिमात्र हैन ओलीलाई सरकारबाट हटाएर नयाँ सरकार नबनाउन पनि भारतले देउवालाई सुरूदेखि नै सुझाएको थियो। देउवाले ओलीविरूद्ध गठबन्धनको प्रयत्न गर्न थालेपछि भारतले उनलाई दबाब नै दियो।
पहिलो संसद विघटनदेखि नै भारतको चाहना ओली नेतृत्वमा नेपाली कांग्रेस पनि निर्वाचनमा भाग लिओस् र नयाँ निर्वाचन नहुँदासम्म ओली सरकारको बहिर्गमन नहोस् भन्ने थियो।
प्रधानमन्त्री देउवा पनि सुरूमा ओलीलाई सरकारबाट हटाउन विपक्षी गठबन्धनको नेतृत्व गर्न तयार थिएनन्। नेपाली कांग्रेसभित्र पनि देउवामाथि ओलीविरूद्ध उभिनु पर्ने दबाब बढ्दै गयो। भारतले ओलीलाई लामो समयसम्म सत्तामा राख्न चाहेको र संसद विघटन सदर भए उनको नेतृत्वमा तत्काल चुनाव नै नहुने खतरा रहेको भन्दै कांग्रेस नेताहरूले देउवालाई दबाब दिए।
‘त्यसपछि मात्र देउवा ओलीलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनको नेतृत्व गर्न तयार हुनुभएको हो,’ कांग्रेसका एक नेताले भने।
नेपाली राजनीतिमा ओलीलाई बलियो बनाउने आफ्नो रणनीति तत्काल असफल भएको र आफ्नो चाहनाविरूद्ध देउवा उभिएको भनेर भारतीय सस्थापन पक्ष उनीसँग रूष्ट बनेका छ।
लामो समयदेखि चलेको परम्परा तोड्दै देउवालाई प्रधानमनत्री नियुक्त भएमा हप्ता दिनसम्म बधाई नदिएर मोदीले भारतको ‘बेरूखी’ देखाएका छन्।