जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षमा प्रतिनिधि सभाका १८ सांसद पुगेका छन्। शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा रिट दायर गर्दा यादवको पक्षमा १२ सांसद मात्र थिए।
तर यादव पक्षको आइतबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका ३४ मध्ये १८ सांसद उपस्थित भएका हुन्। २ जना निलम्बित छन्।
पछिल्लो पटक महन्थ ठाकुर पक्षबाट केपी ओली सरकारमा सहभागि भएकी रेणुका गुरूङ उपेन्द्र यादव पक्षको बैठकमा आएकी हुन्।
यसअघि शनिबारको बैठकमा ठाकुर पक्षका ५ सांसद यादवको पक्षमा आएका थिए।
शनिबारबाट अमृता अग्रहरी, नरमाया ढकाल, रानी मण्डल, प्रमोद साह र रूही नाज यादव पक्षतिर लागेका हुन्। यसअघि उनीहरू ठाकुर पक्षमा लागेका थिए।
प्रधानमन्त्री देउवाले अपराह्न ४ बजेपछि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । देउवालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा यादव पक्ष र नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिने निर्णय गरेका छन्।