जनता समाजवादी पार्टी जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका पक्षमा सांसदहरू बढ्दै जाँदा नेपाली कांग्रेस उत्साहित भएको छ।
प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई हस्ताक्षर गर्दा यादव पक्षका १२ सांसद थिए। अहिले त्यो संख्या बढेर १८ जना पुगेको छ।
बानेश्वरमा आज दिउँसो बसेको कांग्रेस संसदीय दलमा जसपा अध्यक्ष यादवका पक्षमा सांसद बढ्दै गएकोले त्यसले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत पाउन थप सजिलो हुने निश्कर्ष निस्केको छ।
बैठकमा गृहमन्त्रीसमेत रहेका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्री देउवालाई नेकपा माओवादी केन्द्र, जनता समाजवादीको उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चालगायतले समर्थन गर्ने निर्णय गरेकोमा धन्यबाद दिएका थिए।
‘उपेन्द्र यादवजीका पक्षमा पहिले १२ जना माननिय हुनुहुन्थ्यो। यो संख्या बढेको छ। यसले विश्वासको मतका लागि थप बलियो बनाएको छ,’ संसदीय दलको बैठकमा खाँणले भने।
खाँणले जनताको जीवनलाई पहिलो प्राथमिकता राखेर सरकारले काम गरिरहेको पनि बताए।