नेकपा एमालेले विवाद समाधान गर्न बनेको कार्यदलका सदस्यले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन्।
आइतबार बिहान नेपाल निवास पुगेर विघटित कार्यदलमा रहेका नेताहरूले नेपाललाई भेटेका हुन्। भेटका क्रममा नेताहरूले एकाएक आजै प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने प्रस्ताव कहाँबाट आयो भनेर प्रश्न गरेका थिए।
स्रोतका अनुसार नेता नेपालले यस विषयमा कुनै जवाफ दिएनन्।
नेपालसँगको छलफलपछि कार्यदलमा रहेका सांसद गोकर्ण बिष्टले आफूहरूले १० बुँदे सहमति कार्यान्वयनका लागि नेपाललाई आग्रह गरेको बताए।
‘हामीले हिजो अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पनि कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्न भनेका थियौं,’ बिष्टले भने,‘आज माधव कमरेडलाई पनि १० बुँदेको कार्यान्वयनमा सबै इमानदार हुनुपर्ने बतायौं।’
कार्यदलमा रहेका दुबै पक्षका सदस्यहरू शनिबार ओलीलाई भेट्न उनको निवास बालकोट र आइतबार नेपाललाई भेट्न गएका थिए।
कार्यदलका सदस्यको भनाइमा नेता नेपालले कुनै प्रतिक्रिया नदिएको बिष्टले बताए।
पार्टी एकताको प्रक्रियामा रहेकाले प्रधानमन्त्री देउवालाई अहिले नै विश्वासको मत दिन नहुने पक्षमा उक्त कार्यदलमा रहेका नेपाल पक्षका सांसदहरू छन्। नेता नेपाल भने देउवालाई विश्वासको मत दिने अडानमा छन्।