संसदको कार्यव्यवस्था समिति बैठकमा नेकपा एमालेले आजको संसद बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यक्रम राख्न नहुने बताएको छ।
प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने भएपछि कार्यव्यवस्था परामर्श समितिमा एमालेले आज त्यो प्रक्रिया अघि नबढाउन आग्रह गरेको हो।
‘प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्ताव दर्ता भयो, हामीले आज होइन अर्को दिन तोकौं भनेका छौं। संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकारले विश्वासको मत लिने प्रबन्ध नियमावलीमा देखिँदैन, यी प्रश्नहरू उठेका छन्’, बैठकमा सहभागी एक एमाले सांसदले सेतोपाटीसँग भने।
यसैबीच नेपाल निवास कोटेश्वरनजिक रहेको एउटा सामुदायिक भवनमा यतिबेला तत्कालिन पार्टी एकता मिलाउन गठित समितिका सदस्य छलफलमा जुटेका छन्।
छलफलमा नेपाल पक्षका भीम रावल, सुरेन्द्र पाण्डेलगायतका नेता छन् भने ओली समूहका सुवास नेम्वाङ, विष्णु पौडेललगायतका नेताहरू कोटेश्वर पुगेका हुन् ।
देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिको कार्यालयमा बुझाइएको दाबीमा नेपाल पक्षका २६ सांसदले हस्ताक्षर गरेका थिए। त्यस्तै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दिइएको रिटमा नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका थिए।