गण्डकी प्रदेशमा आर्थिक वर्ष सकिनै लाग्दा एकैदिन एक अर्ब रूपैयाँ भुक्तानी भएको छ।
आर्थिक वर्ष २०७७/०७८ सकिनै लाग्दा असार २४ गते मात्रै एक अर्ब रूपैयाँ भुक्तानी भएको प्रदेश कोष तथा लेखा नियन्त्रक इन्द्रप्रसाद पौडेलले जानकारी दिए।
असार २० यतामात्रै दैनिक कम्तीमा ३० करोड रूपैयाँ बढी भुक्तानी दिएको उनले बताए।
असार २५ गतेभित्र उक्त आर्थिक वर्षको कारोबार सक्ने र त्यसपछि भुक्तानी नदिने कानुनी प्रबन्ध रहे पनि सरकारले मन्त्रिपरिषद् बैठकमार्फत् असार ३० गतेसम्म भुक्तानी दिन मिल्ने प्रबन्ध मिलाएको थियो।
संघीय सरकारको मन्त्रिपरिषद् र प्रदेश सरकारको मन्त्रिपरिषदले उक्त निर्णय गरेको थियो। जसअनुसार असार ३० गतेसम्म नै भुक्तानी दिएको प्रमुख कोष नियन्त्रक पौडेलले बताए।
प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/०७८ का लागि ल्याएको कुल बजेट ३४ अर्ब, ८४ करोड २१ लाख रूपैयाँको ७३ प्रतिशत खर्च भएको छ।
पुँजीगततर्फ ७९ प्रतिशत अर्थात् १७ करोड ४४ लाख ८१ हजार र चालुतर्फ ६०.५ प्रतिशत अर्थात् ८ अर्ब १२ करोड ६९ लाख १० हजार रूपैयाँ खर्च भएको छ।
पुँजीगत र चालु गरी गण्डकीमा २५ अर्ब ७४ करोड १३ लाख ९१ हजार रूपैयाँ खर्च भएको कोष नियन्त्रक पौडेलले जानकारी दिए।
गत आर्थिक वर्षमा भएको खर्च प्रगति अघिल्लो वर्षको तुलनामा १० प्रतिशत प्रगति भएको छ।
अघिल्लो वर्ष ६२ प्रतिशतमात्र खर्च भएको थियो।
गत आर्थिक वर्षमा कुल बजेटको ८० प्रतिशत बजेट खर्च हुने अवस्था रहे पनि कोरोना महामारी लगायतका कारण अपेक्षा गरिए जति खर्च नभएको पौडेलले बताए।
‘कोरोनाले बजेट खर्च हुने समयमै लकडाउन भयो, त्यसमाथि बाढी पहिरो आयो’, उनले भने, ‘तै पनि गण्डकीको बजेट खर्च सन्तोषजनक छ, अघिल्लो वर्षको तुलनामा खर्च बढेकै छ ।’