लुम्बिनी प्रदेशसभामा आइतबार टेबुल भएको बिनियोजन विधेयकमाथि सोमबारदेखि छलफल शुरु भएको छ।
विपक्षी गठबन्धनको विरोधका कारण बजेट प्रस्तुत गरेको झण्डै चार हप्तासम्म विनियोजन विधेयक प्रदेशसभामा पेश हुन सकेको थिएन।
राजस्व र व्ययको अनुमानमाथिको सामान्य छलफलपछि प्रदेश सरकारका प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले आइतबारको बैठकमा विनियोजन विधेयक टेबुल गरेका थिए। सो विधेयकमाथि सोमबारदेखि छलफल शुरु गरिएको हो।
सोमबारको बैठकमा बोल्ने विपक्षी गठबन्धनका सांसदहरुले अल्पमतको सरकारले ल्याएको बजेटमा छलफल गर्न नसकिने भन्दै बजेट पास गर्नका लागि प्रदेशसभामा बहुमत सावित गर्न मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरे।
सांसद ईन्द्र प्रसाद खरेल र रमा अर्यालले अल्पमतको सरकारले ल्याएको बजेट प्रदेशसभाबाट पास हुन नसक्ने भन्दै पार्टी कार्यालयमा लगेर बजेट पास गर्न सरकारलाई चेतावनी दिए।
सांसद तिलकराम शर्माले सरकारले लोभ्याउने नारा जोडेर बजेट ल्याएपनि कार्यान्वयन चुनौतिपुर्ण रहेको बताए। प्रदेशसभा सदस्य डिल्ली चौधरीले सरकार जनताको स्वास्थ्य सुरक्षामा भन्दा सत्ता जोगाउन केन्द्रित रहेको आरोप लगाए।
उनले सरकार जोगाउने खेलमा भन्दा तेस्रो लहरको कोभिड नियन्त्रणको तयारीमा लाग्न सरकारलाई सुझाव समेत दिए। सरकारले अस्पताल निर्माणका लागि बजेट छुट्याएपनि त्यसको तयारीमा नलाग्दासम्म परिणाम ननिस्किने उनले बताए।
बैठकको शुरुमै बोलेका सत्तापक्षका सांसद एवं पुर्वमन्त्री लिला गिरीले बजेटलाई हेर्ने दृष्टिकोण राजनीतिक रुपमा फरक हुनु स्वभाविक रहेको उल्लेख रे। उनले प्रतिपक्षले विरोधको नाममा बजेट फेल गर्ने प्रयास गरे पनि अबको अवस्थामा पुरक बजेट ल्याउन सम्भव नभएको प्रष्टाए।
सत्तापक्षका अर्का सांसद कमल श्रेष्ठले कोभिडको महामारीमा पनि सरकारले उत्कृष्ट बजेट ल्याएको भन्दै बजेट कार्यान्वयनका लागि सबैले साथ दिनुपर्ने बताए। उनले जतिसक्दो छिटो नागरिकलाई कोभिड खोप उपलब्ध गराउन प्रदेश सरकारलाई पहल गर्न आग्रह गरे।
प्रदेश सभाको अर्को बैठक मंगलबार विहान ११ बजे बस्दै छ। मंगलबार पनि बजेटमाथि छलफल भएपछि उठेका सम्बन्धित प्रश्नको सम्बन्धित मन्त्रीहरुले बुधबार जवाफ दिने तय भएको छ।