नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको संयोजनमा युवा नेताहरू महाधिवेशन केन्द्रित छलफलमा जुटेका छन्।
काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आइतबार अपरान्ह ४ बजेपछि उनीहरू छलफलमा जुटेका हुन्।
केसीले यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता शेखर कोइरालासहित सभापतिका लागि आकांक्षीहरूसँग छलफल गरेका थिए।
पौडेल समूहबाट एक मात्रै सभापतिको उम्मेदवार बनाउन केसीले पहल गरिराखेका छन्। त्यसैलाई सार्थकता दिन भन्दै आज युवा नेतासँग छलफल गरिएको केसीनिकट एक नेताले बताए।
छलफलमा केन्द्रीय सदस्यहरू धनराज गुरूङ, बद्री पाण्डे, चन्द्र भण्डारी, गगन थापा, गुरूराज घिमिरे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादव, किरण यादवलगायत रहेको केसीको सचिवालय स्रोतले जानकारी दिएको छ।
कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ। महामन्त्रीलगायत पदमा पनि मिलेर नै अगाडि बढ्नेबारे छलफल भएको एक नेता बताउँछन्।